‘वडाध्यक्षज्यू पनि लाग्नु भएको थियो । साउन्डलेस बनाउँछौ भनेर आएका थिए । मैले नगरबाट पनि रोक्न लगाएको हो ।’

जनप्रतिनिधि तथा सरोकारवालाकै नेतृत्वमा धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालयको छेउमै पार्टी प्यालेस सञ्चालन गर्न अनुमति दिइएको छ । 

उक्त पार्टी प्यालेस सञ्चालनका लागि वडाध्यक्ष मुरारी भट्टराईसहित सरोकारवाला पक्षले नै अनुमति दिएका हुन् । अनुमति प्राप्त भएपछि गुरुङ बीबीक्यूका सञ्चालक धनबहादुर गुरुङले पार्टी प्यालेस निर्माण सुरु गरेका छन् । उक्त जग्गा स्थानीय सुनिल श्रेष्ठको हो । पार्टी प्यालेस निर्माण गर्न सरोकारवाला पक्षले नै अनुमति दिएका हुन् ।

पार्टी प्यालेस सञ्चालनको अनुमति दिन धरान–१६ का वडाध्यक्ष भट्टराईले लबिङ गरेका थिए । निवर्तमान वडाध्यक्ष दिलबहादुर गिरी भन्छन्, ‘वडाध्यक्षज्यू पनि लाग्नु भएको थियो । साउन्डलेस बनाउँछौ भनेर आएका थिए । मैले नगरबाट पनि रोक्न लगाएको हो ।’ यता पार्टी प्यालेस सञ्चालनको अनुमति दिने निर्णयको समयमा आफूले नीतिगत रूपमा दिन नमिल्ने बताउँदा पनि बहुमतले निर्णय गरेर दिएको प्रधानाध्यापक कृष्ण भट्टराई बताउँछन् । प्रधानाध्यापक भट्टराईले भने, ‘२०७७ सालमा निर्णय भएको हो । हाल कुनै कुरा भएको छैन । बाहिर बाहिर कुरा भएको भन्ने सुनेको हो ।’

निवर्तमान वडाध्यक्षको कुरालाई चिर्दै वर्तमान वडाध्यक्ष भट्टराईले यसअघिकै निर्णयबाट प्यालेस निर्माण गरिरहेको भन्ने सुन्नमा आएको भए पनि वडामा त्यस्ता विषय लिएर नआएको दाबी गरे । लबिङ गरेको विषयमा अध्यक्ष भट्टराईले भने, ‘गलत हो । निकेतन स्कुल छेउमा पनि प्यालेस भएकाले विद्यालयमा असर गर्छ कि गर्दैन ? पढाइमा असर गर्छ कि गदैन ? कता फर्केर बन्छ भनेर बुझ्ने काम भएको हो ।’ अब थप अनुमति दिने विषयमा नगरसँग कुरा गरेर अघि बढ्ने उनले बताए । ‘स्थानीय सरकारले बुझ्नु पर्ने कुरा हो’ उनले भने, ‘मैले दिने हो भने कानूनी कुरा नबुझी अगाडि बढ्दिन ।’

‘स्कुल छेउमा अनुमति दिनु हुँदैन’

धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडा विद्यालय तथा अस्पताललगायत सार्वजनिक क्षेत्रलाई असर गर्ने गरी पार्टी प्यालेस बनाउन अनुमति दिन नहुने बताउँछन् । उनी भन्छन्, ‘होटल, पार्टी प्यालेस खोल्दा विद्यालय, अस्पतलालगायत सार्वजनिक क्षेत्रलाई असर पर्नु हुँदैन ।’ पूर्वाधार हेरेर आवश्यक प्रक्रिया अघि बढाउने बताउँदै भन्छन्, ‘भवन निर्माणको अनुमति दिने सम्बन्धित महाशाखासँग पनि समन्वय गर्छौ । विद्यालयलाई असर गर्ने गरी अनुमति दिन मिल्दैन ।’ उनी भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा पनि बुझ्ने बताउँछन् ।

२०७७ सालमै सहमति

पार्टी प्यालेसका लागि भवन निर्माण गर्ने सहमति २०७७ सालमै भएको थियो । उक्त निर्णय विद्यालय व्यवस्थापन समिति (विव्यास) सहित बसेर निर्णय गरिएको थियो । सोही निर्णयका आधारमा आफूले निश्चित रकम दिने शर्तमा पार्टी प्यालेस निर्माण गर्न सुरू गरिएको सञ्चालक गुरुङले बताए । पार्टी प्यालेस सञ्चालनका सबै प्रक्रिया पूरा गरेर नै निर्माण थालेको सञ्चालक गुरुङले ब्लाष्टकर्मीलाई बताए । उनले भने, ‘एक लाख १२ हजारको अक्षयकोष राखिदिने शर्तमा विद्यालयले अनुमति दिएको थियो ।’ पार्टी प्यालेस निर्माण गर्न अनुमति दिने विषयमा प्रधानाध्यापक भट्टराईले समर्थन नजनाउनेमा आफू एक्लो भएको बताए । बैठकबारे बताउँदै भन्छन्, ‘९ जनामध्येको एक जना हो म । बहुमतले गरेको निर्णय मानेको हो ।’ 

तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन वस्तीले केही शर्तमा व्यवस्थापन समितिले अनुमति दिने निर्णय गरेको बताए । उनले निर्णय नहेरी केही भन्न नसक्ने बताउँदै भन्छन्, ‘असर गर्ने गरी नदिने हो । दिनुपर्छ भन्ने तत्कालीन वडाध्यक्ष पनि हो जस्तो लाग्छ ।’ उनी थप्छन्, ‘पछि बाजागाजा हुँदैन, केही हुँदैन भनेपछि निर्णय भयो । कताको फोर्स आयो ।’ तर, वडाध्यक्ष गिरीले आफ्नै जोडबलमा त्यो बेला निर्माण गर्न रोकेको दाबी गरे । शुक्रबार मात्रै विद्यालय व्यवस्थापन समितिको बैठक बसेको थियो । तर, उक्त विषयमा कुरा नउठेको प्रधानाध्यापक भट्टराई बताउँछन् । 

वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण आचार्यले पहिलेको निर्णयअनुसार बनाउने तयारी भएको सुने पनि विद्यालयमा यस विषय नआएको बताए । उनले भने, ‘अहिले अनुमति दिएको हैन । अनुमतिका लागि आयो भने विव्यास पदाधिकारी, जनप्रतिनिधिलगायत सरोकारवाला पक्षसँग छलफल गरेर दूरगामी असर नपर्ने गरी निर्णय गर्छौं ।’ विव्यासका अध्यक्ष आचार्य पार्टी प्यालेस निर्माणबारे आफूसँग जानकारी नभएको बताइरहँदा पार्टी प्यालेस निर्माणकर्ता गुरुङले भने अध्यक्षसँग कुरा भएको दाबी गरे । ब्लाष्टकर्मीसँगको फोनसम्पर्कमा उनले भने, ‘छस्स कुरा भएको थियो । सोही विषय लिएर विद्यालयमा जान लागिरहेका छौँ ।’ यसबारे स्पष्टीकरण दिँदै अध्यक्ष आचार्यले भने, ‘छिमेकीको नाताले भन्नुभएको थियो । सहयोग गरौँ भन्नुभएको हो ।’

‘पुरानोलाई मान्यता दिँदैनौँ’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण आचार्य पुरानो अनुमतिलाई मान्यता नदिने बताएका छन् । उनी भन्छन्, ‘पुरानो अनुमति भए पनि हामीलाई जानकारी गराउनु पर्छ । पुरानो अनुमतिलाई मान्यता दिँदैनौँ ।’ उनले विद्यालयमा अनुमतिका लागि आधिकारिक जानकारी नआएको दाबी गरे । ‘अघिल्लो कार्य समितिले अनुमति दिएको रहेछ । पहिले अनुमतिलाई बनाउने तयारी भएको हो । मेरो व्यक्तिगत कुराभन्दा पनि वडाध्यक्षसहित पदाधिकारी बैठक बसेर निर्णय गर्छौँ’ उनले भने, ‘सम्बन्धित निकायले पनि अनुमति नदिइकन अगाडि बढ्दैन । सरोकारवाला बोलाएर विज्ञसँग छलफल गरेर अघि बढ्छौ । पुरानो अनुमति भए पनि हामीलाई जानकारी गराउनु पर्छ । मान्यता दिँदैनौ ।’

‘विद्यालयमा असर पर्छ’

विद्यालयका प्रधानाध्यापक भट्टराई विद्यालय छेउमा पार्टी प्यालेस खोल्दा असर पर्ने बताउँछन् । ‘विद्यालय छेउमा होटल, पार्टी प्यालेर डान्स बार खोल्दा असर पर्छ’ उनी भन्छन्, ‘शिक्षा ऐनले पनि विद्यालय छेउछाउमा खोल्न हुँदैन भन्छ । खोल्न नमिल्ने हो ।’ उनका अनुसार १५० मिटर छेउमा सुर्तिजन्य पदार्थ पनि बिक्री वितरण गर्न मिल्दैन ।