विराटनगर  । सम्झौता गरेको समयसीमाभित्र निर्माणको काम पूरा नगरी अलपत्र पारेर सम्र्पकविहीन भएको विराटनगरको एउटा निर्माण कम्पनीको साढे १६ करोडभन्दा बढी ग्यारेन्टी रकम जफत गरिएको छ ।

विराटनगरस्थित कोशी अस्पतालको भवन निर्माणको काम बीचमै छोडेर सम्पर्कविहीन भएकोे विराटनगरको भूमि–बी.आई. पी.एल.कन्स्ट्रक्सनको बैङ्क ग्यारेन्टी र पर्फर्मेन्स ग्यारेन्टी बापतको १६ करोड ८३ लाख ६६ हजार ५ सय रुपैयाँ जफत गरेको हो । निर्माण कम्पनीको उक्त रकम सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ मोरङले जफत गरेको छ ।  

रमन–भूमि, बी.आई.पी.एल. जेभीले संयुक्तरूपमा कोशी अस्पतालको सुविधा सम्पन्न पाँच तलाको भवन निर्माण गर्ने ठेक्का पाएको थियो । अस्पताल परिसरमा निर्माणाधीन भवनको सम्झौता अवधि सकिएको एक महिना हुन लाग्दा पनि साढे दुई वर्षमा ३० प्रतिशत मात्र निर्माणको काम पूरा भएको छ । अस्पतालको भवन निर्माणको सम्झौता २२ पुसमा सकिएको थियो । सम्झौता अवधि सकिँदासमेत निर्माणको काम आधा पनि नसकी अलपत्र छोडेर सर्म्पकविहीन भएको निर्माण कम्पनीले राखेको ६ करोड ५५ लाख रुपैयाँ बैङ्क ग्यारेन्टी १८ माघमा जफत गरेको थियो । एक हप्ताअगाडि आयोजना एकाइले पफर्मेन्स ग्यारेन्टी (पीबी) १० करोड २८ लाख ६६ हजार ५ सय रुपैयाँ पनि जफत गरेको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ मोरङका सूचना अधिकारी अशोक रामले जानकारी दिए । ‘सम्झौता गरेको समयसीमाभित्र निर्माण कम्पनीले काम नसकेपछि बैङ्क ग्यारेन्टी र पर्फर्मेन्स ग्यारेन्टी जफत गरिएको हो’ सूचना अधिकारी रामले भने, ‘अहिले जेबीमध्येकै रमण कन्स्ट्रक्सनले निर्माणको काम गर्दै आएको छ ।’

निर्माणको काम बीचैमा छाडेर भूमि कन्स्ट्रक्सन सम्पर्कविहीन भए । ठेकेदारले सम्झौताअनुसार काम नगरेको, लिखित, मौखिक ताकेता गर्दा बेवास्ता गरेपछि बैङ्क ग्यारेन्टी र पर्पmर्मेन्स ग्यारेन्टी जफत गरिएको हो । काम अलपत्र परेपछि आयोजनाले पटक–पटक पत्र पठाएर काम थाल्न अनुरोध गरे पनि कुनै सुनुवाइ नगरेपछि ठेक्का रद्द गरेर कारबाहीको तयारी गर्ने भएपछि जेबीमध्येका रमणले काम सुुरु गरेको छ । अहिलेसम्म ३० देखि ३५ प्रतिशत मात्र काम पूरा भएको इन्जिनियरसमेत रहेका सूचना अधिकारी रामले बताए । ‘भूमि–बी.आई.पी.एल.कन्स्ट्रक्सन सम्पर्कविहीन भएपछि केही महिना अगाडिदेखि जेबीमध्येका रमण कन्स्ट्रक्सनले काम सुरु गरेको छ’ उनले भने, ‘अहिले निर्माणको काम भइरहेको छ ।’

म्याद थपको तयारी
रमणले काम सुरु गरेपछि परियोजना एकाइले पहिलो पटक म्याद थप गर्ने तयारी गरिएको छ । कोशी अस्पतालको नयाँ भवन निर्माणको लागि एकाइले ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँमा टेण्डर खुलाएको थियो । रमन भूमि, बी.आई.पी.एल. जेभीले ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो ।

उक्त जेभीले ठेक्का पाएपछि २०७८ असार २३ गते सङ्घीय आयोजना कार्यान्वयन एकाइसँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर शिलान्यास गरिएको थियो ।

कोशीभित्र बन्दै आएको अत्याधुनिक सुविधा सम्पन्न पाँच तले भवन निर्माणको काममा भएको ठेकेदारभित्रको आन्तरिक विवाद र ढिलासुस्तीको कारण निर्माणमा ढिलो भएको छ । सुरुमा कृष्ण बोहरा सञ्चालक रहेको भूमि कन्स्ट्रक्सनले निर्माणको काम सुरु गरेको थियो । निर्माण सुरु गरेको केही दिनपछि भूमिले करिब पाँच महिना निर्माणको काम रोकेको थियो । त्यसपछि ठेकेदार बोहरा सम्पर्कविहीन भए । अहिले पवनकुमार महतो सञ्चालक रहेको भूमि कन्स्ट्रक्सनको पार्टनर रमणले निर्माणको काम सुरु गरेको छ । लामो समयसम्म निर्माण कार्य रोकिएको र निर्माण सम्पन्न नभएपछि पहिलो पटक म्याद थप गर्ने तयारी गरिएको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख सुरेन्द्रकुमार साहले बताए । ‘निर्माण कम्पनीले म्याद थपको लागि समयसीमा माग गर्ने तयारी गर्दैछ’ उनले भने, ‘म्याद सकिनुअगाडि पहिलो पटक म्याद थप गरिनेछ ।’

ठेकेदार कम्पनीले घाटा हुने भन्दै काममा ढिलासुस्ती गरेको बुझिएको छ । टेन्डर आह्वान गरेको भन्दा १७ करोड कम लागतमा ठेक्का पारेको सो जेबीले घाटा लाग्ने भन्दै काम गर्न ढिलासुस्ती गरेको निर्माण व्यवसायीहरू बताउँछन् ।

निर्माण कम्पनीले हालसम्म ६ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी लिइसकेको छ । भूमि र बीआईपीएलले  ५ करोड ६९ लाख ४४ हजार ८ सय ९३ रुपैयाँ ४७ पैसा र रमणले ८९ लाख ५५ हजार ७ सय ७५ रुपैयाँ भुक्तानी लिएको छ । निर्माण गरेअनुसारको भुक्तानी उनीहरूले लिएका छन् ।

कस्तो बन्नेछ नयाँ भवन ?
चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भूइँतलामा पार्किङ हुने स्टिमेटमा उल्लेख गरिएको छ । दोस्रो तलामा एचडियुसहितको डाइलाइसिसलगायतका सेवाहरु हुनेछन् । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शय्याको हुनेछ । यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शय्याको हुनेछ । पहिलो चरणमा पाँच तलाको भवन बन्नेछ । त्यसपछि योजनाअनुसार तला थप हुँदै जानेछ । मास्टर प्लानअनुसार ७ तलाको बनाउने भवनको लागत स्टिमेटमा पाँचौं तलामा ५२ शय्याको जनरल वार्ड र छैठौं तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शय्याको अस्पताल रहेको कोशीको सुविधासम्पन्न भवन बनेपछि पाँच सय शय्या पुर्याउने तयारी गरिएको छ ।