कोशी प्रदेशका तराईका जिल्लाहरु झापा, मोरङ र सुनसरीका शैक्षिक संस्थाहरुमा भूमिगत सङ्गठनको नाममा चन्दा माग्दै पत्र पठाउने र धम्क्याउँदै विष्फोटक पदार्थ राख्ने क्रम बढेसँगै शैक्षिक क्षेत्रमा आतङ्क सिर्जना भएको छ । गिरोहले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटर प्याड प्रयोग गरेर चन्दा माग गरेको र नदिएमा विष्फोटक पदार्थ राखेर तर्साउने गरेको छ । यसरी आतङ्क मच्चाउने दुईलाई प्रहरीले पक्राउसमेत गरेको छ । त्यसरी पक्राउ पर्नेहरु आपराधिक पृष्ठभूमिका व्यक्तिहरु रहेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । यसरी पक्राउ परेकाहरुमाथि कानूनी कारबाहीसँगै गिरोहमा अरु पनि कति छन् भन्ने विषयमा थप अनुसन्धान हुनु जरूरी छ । किनभने तराईका जिल्लाहरुमा धेरै स्थानमा यस्तो पत्र पठाउने र आतङ्क मच्चाउने गरेको गुनासो सुनिँदै आएको छ ।

कुनै राजनीतिक दलको नाम बेचेर अरुलाई धम्की दिने र व्यक्तिगत फाइदाका लागि काम गर्नु सरासर अपराध हो । चन्दा आतङ्क मच्चाउनेहरुको पृष्ठभूमि पनि आपराधिक देखिएको छ । पक्राउ परेका इलाम माङ्सेबुङ गाउँपालिका–१ गजुरमुखी घर भई काठमाडौंस्थित भीमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङ्वरक गाउँपालिका–१ का ३० वर्षीय विपिन अधिकारीको साथबाट शैक्षिक संस्थामा चन्दा माग्न लेखिएका पत्र, नगदी रसिद र लेटरप्याड पनि बरामद भएको छ । पक्राउ परेका दुवैजना आपराधिक पृष्ठभूमिका व्यक्तिहरु रहेको पाइएको छ । प्रहरीका अनुसार मिश्रविरूद्ध झापामा २०७६ सालमा विष्फोटक पदार्थसम्बन्धी ४ वटा मुद्दा दर्ता भएका थिए भने अधिकारीविरूद्ध पाँचथरमा २०७६ मा अभद्र व्यवहार मुद्दा चलेको थियो । यसरी विगतमा आपराधिक गतिविधि गरेका व्यक्तिहरु नै समाजमा आतङ्क मच्चाएर व्यक्तिगत फाइदाका लागि धन्दा चलाउने गरेको प्रष्ट हुन्छ ।

देशमा सङ्घीयता लागू भएको र तीन तहका सरकार गठन भएको लामो समय बितिसक्दासमेत विभिन्न बहानामा आम नागरिक र व्यापारी व्यवसायीमाथि आतङ्क हुँदा अझै शान्तिपूर्ण वातावरण बन्न नसकेको सन्देश फैलिरहेको छ । त्यसै पनि देशमा आर्थिक मन्दीका कारण व्यापारी व्यवसायी पलायन भइरहेका बेला विभिन्न समूहले चन्दा आतङ्क मच्चाउँदा नागरिकमा निराशा बढ्छ । त्यसकारण आतङ्क मच्चाउनेहरुलाई निरूत्साहित गर्न आवश्यक छ । अझ शैक्षिक क्षेत्रलाई राज्यले नै शान्ति क्षेत्रका रुपमा लिने गरेको छ । शान्तिपूर्ण वातावरण हुनुपर्ने क्षेत्रमै यसरी आतङ्क मच्चिनु दुःखद् हो । शैक्षिक होस् या व्यावसायिक जुनसुकै क्षेत्रमा पनि आतङ्क बन्द हुनुपर्छ । त्यसका लागि प्रहरी प्रशासनको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । अपराधीले कानून र प्रहरी प्रशासनको डर नमान्ने अवस्था हुनु भनेको राज्यको असफलता हो । राज्य र प्रहरी प्रशासन असफल बन्नु हुँदैन । अपराधीलाई कानूनी कठघरामा उभ्याएर आम नागरिकलाई शान्तिपूर्ण वातावरणमा बस्न सक्ने अवस्था सिर्जना हुनुपर्छ । चन्दा वा अरु कुनै पनि किसिमका आतङ्क नियन्त्रण गर्न प्रहरी प्रशासन र समुदाय मिल्नुपर्छ । सबै पक्षको सहकार्य भएमा धेरै अपराध नियन्त्रण गर्न सकिन्छ ।