उदयपुरको बेलका- ४ लालबजारस्थित 'नर्थ स्टार इङ्लिस बोर्डिङ स्कुल'ले सरस्वती पूजाको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा  विद्यालयले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासँगै कक्षा-९ का विद्यार्थीको आयोजनामा अभिभावकका लागि सांस्कृतिक कार्यक्रम  राखिएको विद्यालयका प्रधानाध्यापक दिलकुमार राईले जानकारी दिए ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । सोही जनविश्वासअनुसार विद्यालयले अक्षारारम्भसमेत गराएको थियो । प्रधानाध्यापक राईका अनुसार आज विद्यालयमा अक्षरारम्भ गर्ने विद्यार्थीलाई नि:शुल्क भर्नाको व्यवस्था मिलाइएको थियो ।

विद्यालयले विद्यार्थी र स्थानीय अभिभावकलाई देवी सरस्वतीको पूजा, आरधना गर्ने र प्रसाद वितरण गर्ने व्यवस्था मिलाएको विद्यालय सञ्चालक राजन बस्नेतले जानकारी दिए ।

सरस्वती विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्ने गरेका छन् ।