पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धेरै धान फलाउने २९ जना कृषकलाई सम्मान गरेको छ ।

गाउँपालिकाले बजार परिक्रमा गराउँदै नगदसहितले सम्मानित गरेको हो । जनही ३० देखि ५० हजार नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरी सम्मान गरेको थियो । जसअनुसार ५० देखि १ सय मुरी धान उत्पादन गर्ने २७ कृषकलाई जनही नगद ३० हजार रुपैयाँ सम्मान–पत्र प्रदान गरेको थियो ।

त्यसैगरी १ सय मुरीदेखि १ सय ६५ मुरीसम्म धान उत्पादन गर्ने २ जना कृषकलाई नगद ५० हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरेको छ । गाउँपालिकामा सबैभन्दा बढी फाल्गुनन्द–१ का कृषक मकरबहादुर तामाङले धान उत्पादन गरेका थिए । उनले १ सय ६८ मुरी धान उत्पादन गरेको भन्दै पछिल्लो समय चर्चामा आएका छन् ।

कृषक प्रोत्साहनको नीति लिएको गाउँपालिकाले धान जस्तै अन्य बाली र नगदेबाली लगाउने कृषकहरूलाई पनि प्रोत्साहन गर्दै लाने गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले जनाए । उनका अनुसार आगामी वर्ष मकै, कोदोलगायत फलफूलबाली लगाउने कृषकहरूको लागि प्रोत्साहन कार्यक्रम अघि बढाउने बताए । गाउँपालिकाले उकृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० पारित गरी धेरै धान उत्पादन गर्ने २९ कृषक छनोट गरेको थियो ।