भद्रपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले काँकडभिट्टा नाकामा निगरानी बढाउन भन्सार कार्यालयलाई निर्देशन दिएका छन् ।

दमक महोत्सवको उद्घाटन गर्न झापा आएका मन्त्री महतले आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टा पुगेर भन्सारले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको भन्दै चोरी–पैठारी रोक्न कार्यालय प्रमुखलाई निर्देशन दिएका थिए । नाकाबाट भन्सार छलेर अवैधरूपमा सामानहरू भित्रिएका कारण राजस्व सङ्कलनमा कमी आएको भन्दै त्यस्ता गतिविधि रोक्न र राजस्व वृद्धि गर्न भन्सारलाई उनले निर्देशन दिएका थिए ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार कार्यालय निरीक्षण गर्न अर्थमन्त्री काँकडभिट्टा नाका आएको बताए । मन्त्रीलाई भन्सारको प्रगति विवरणका बारेमा जानकारी गराइएको रेग्मीले जानकारी दिए । लक्ष्यअनुसार राजस्व नउठेका कारण राजस्व उठाउन पहल गर्न मन्त्रीले अनुरोध गरेको उनले बताए ।

अर्थमन्त्री डा. महतले भद्रपुर भन्सार कार्यालयको पनि निरीक्षण गरेका छन् । नेपाल–भारत सीमा नाका भद्रपुरस्थित मेचीपुलसँगै भन्सार कार्यालयको निरीक्षण गरेका थिए । अर्थमन्त्री डा. महतले भन्सारको वर्तमान विषयवस्तुको बारेमा जानकारी लिएका थिए ।

निरीक्षणमा पुगेका डा. महतलाई सरोकारवाला पक्षले भन्सारले अधिग्रहण गर्न लागेको जग्गाको बाँकी मुआब्जा रकम निकासा र भारततर्फको गलगलिया भन्सार कार्यालयको स्तरोन्नतिका लागि तत्काल पहल गरिदिन आग्रह गरेका थिए । छोटीबाट मूल भन्सारमा स्तरोन्नति गरिएको भद्रपुर भन्सारको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको मुआब्जा रकम कुल ६१ करोडमध्ये १० करोड रकम मात्र उपलब्ध भएकोले बाँकी रकम तत्काल निकासा गरिदिन अर्थमन्त्री डा. महतको ध्यानाकर्षण गराइएको भद्रपुर–५ नम्बर वडाध्यक्ष बन्धु कार्कीले जानकारी दिए ।

अर्थमन्त्रीले त्यसको लागि छिट्टै पहल गर्ने आश्वासन दिएको उनले बताए । निरीक्षण कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेलसहित उद्योगी तथा व्यापारीहरूको सहभागिता रहेको थियो । भद्रपुर भन्सारको निरीक्षणपश्चात् अर्थमन्त्री डा. महतले आन्तरिक राजस्व कार्यालय झापाको समेत निरीक्षण गर्दै कामकाजलाई चुस्त दुरुस्त बनाउन कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।