संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष्य पूरा गरेको बताएका छन् ।

उनले लगानीमैत्री पर्यटन नीति बनाउनका निम्ति  मस्यौदासमेत अन्तिम चरणमा पुर्याएर अर्थ मन्त्रालयमा पठाएको बताए ।

बेलका नगरपालिकास्थित कोशी नदी किनारमा निर्माण भएको एक होटलको उद्घाटनका क्रममा शनिबार मन्त्री किरातीले बृहत्तर रुपमा पर्यटनका निम्ति संरचनाहरु निर्माण गर्नुपर्ने बताए ।

'हामीले पर्यटन भित्राउने राष्ट्रिय लक्ष्य पूरा गर्यौ । १० लाख थियो । हामीले १० लाखभन्दा बढी पर्यटक ल्याइसक्यौ । यतिले मात्र हुदैन हामीलाई ।
हामीले १० दुना २०, २० दुना ४० अङ्क गणितीय  अथवा ज्यामितीय हिसाबले हामीले वृद्धि गर्नुछ,' मन्त्री किरातीले भने, 'पर्यटन नै हाम्रो देशको आर्थिक विकासको मेरुदण्ड भएको नाताले पर्यटनको विकास गर्नुको अरु विकल्प छैन ।' मन्त्री किरातीले एकातिर  राष्ट्रिय लक्ष्य त पूरा गरे पनि पर्यटनलाई अझ सहज बनाउनका निम्ति पर्यटन ऐन परिवर्तन गर्नुपर्ने जिम्मेवारी आइपरेको बताए ।

'ऐन कानुनहरु एउटा टेबलबाट उद्योगी व्यवसायीले आफ्नो काम फत्ते गर्ने गरी आजको परिस्थितिलाई धान्न सक्ने बोध गर्न सक्ने लगानीमैत्री पर्यटन नीति बनाउनका निम्ति हामीले मस्यौदा अन्तिम चरणमा पुर्याएर अहिले हाम्रो अर्थ मन्त्रालयमा पठाएका छौ,' मन्त्री किरातीले भने, 'कानुन हुँदै क्याबिनेट भएर संसदमा पुर्याउने छौं ।

बन्ने कानुनले आजको पर्यटनलाई आत्मसात गरेको उनले बताए । मन्त्री किरातीले बढीभन्दा बढी निजी क्षेत्रका कुरा सुनेको बताए ।

३५ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न एयरपोर्ट थप्ने

आगामी १० वर्षमा ३५ लाख पर्यटक मुलुक भित्र्याउने लक्ष्य पूरा गर्न काठमाडौको सिङ्गल अप्रोच एयरपोर्टले धान्न नसक्ने मन्त्री किरातीले बताएका छन् । नयाँ विमानस्थल सहित नचलेका विमानस्थललाई एउटै बास्केटमा राखेर पीपीपी मोडलमा कसरी लान सकिन्छ भन्ने विषयमा अध्ययन कमिटी गठन गरेको बताए ।

'हाम्रा एयरपोर्टहरु यत्ति कारणले चल्दैन । हामीले ३५ लाख पर्यटक यदि ल्याउने हो भने राज्यको लक्षित घोषणाअनुसार १० वर्षमा हाम्रा यति होटलले पुग्दैनन । हाम्रा यत्ति एयरपोर्टहरुले धान्दैन । काठमाडौको सिङ्गल अप्रोच एयरपोर्टले अबको पर्यटन धान्दैन', मन्त्री किरातीले भने,  'त्यसकारण नयाँ विमानस्थल सहित नचलेका विमानस्थललाई एउटै बास्केटमा राखेर पीपीपी मोडलमा कसरी लान सकिन्छ, अब पुरानो रक्सीको सिद्धान्तले मातेर बस्ने हामीलाई छुट छैन । त्यही पीपीपी मोडलबाट संचालन भएको एयरपोर्ट ट्रली बोइका निम्ति नेपाली युवाहरु खोसामार छ ।'
एयरपोर्ट चलाउन सके पनि नसके पनि आफैंले नै चलाउनुपर्छ भनेर राष्ट्रवाद प्रस्तुत गर्ने अहंकार रहेको मन्त्री किरातीले टिप्पणी गरे । उनले यस्तो प्रवृति  नेपाली जनताका लागि हानिकारक रहेको बताए । मन्त्री किरातीले भने, 'त्यसकारण पीपीपी मोडलबाट अगाडि बढाउनका निम्ति पाँच सदस्य अध्ययन कमिटी हामीले गठन गरिसकेका छौ क्याबिनेटबाट ।'

पर्यटन व्यवस्थापनका लागि जहाज आवश्यक

पर्यटन व्यवस्थापनका मुलुकलाई धेरै भन्दा धेरै जहाज चाहिने मन्त्री किरातीले बताए ।

उनले नेपाली ध्वजावाहक १४ वटा जहाज पुर्याउन खोजेको बताए । हाल ६ वटा जहाज रहेको मन्त्री किरातीले बताए  । 'जहाज किन्न सघाउने कोही मान्छे छैन नेपालमा । मात्र जनता छ, केबल जनता । हामीले हाम्रो दायित्व पूरा गर्नका निम्ति सङ्कटका बेला राष्ट्रिय ध्वजावाहकलाई उपस्थित गराउनका निम्ति त्यो चाहे भूकम्पमा होस्, चाहे इजरायलको घटनामा होस्, संसारले उद्दार गर्न नसकेका बेला नेपालले उद्दार गरेकै हो', मन्त्री किरातीले भने, 'हामीले प्रथम चोटि हाम्रो राष्ट्रिय ध्वजावाहक जहाज लिएर हामी पुगेकै हो । सकारात्मक काम पनि हो । यतिमात्र होइन हामीले वायु सेवा निगमलाई पनि करार व्यवस्थापनका निम्ति अध्ययन समिति बनाएका छौं ।'

सात करोड लगानीमा होटल
उदयपुरको बेलका नगरपालिका–८ स्थित कोठुमा सात करोड लगानीमा सन्चालनमा आएको सुविधा सम्पन्न होटलको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उद्घाटन गरे ।

कोसी करिडोर, तमोर करिडोर, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्गलगायतका राष्ट्रिय महत्वका परियोजनाको ट्रान्जिट पोइन्टका रूपमा विकास भइरहेको कोठुमा ‘होटल कोसी प्यालेस’ नामक होटल व्यवसायी सम्पत राईले सञ्चालनमा ल्याइएका हुन् । कोसीपुल– मैनामैनी–हसनपुर–घोरेटार हुँदै भोजपुर जाने सडकको मुख्यद्वारमा अवस्थित होटलले आन्तरिक तथा वाह्य पर्यटकको बसाइलाई सुविधाजनक बनाउने लक्ष्य राखेको सन्चालक राईले बताए ।

कोसी नदीमा जल पर्यटनका लागि आउने आन्तरिक पर्यटक, चतरा हुँदै राजधनी जाने यात्री, पश्चिम नेपाल र राजधानीबाट भीमान–गाईघाट हुँदै ताप्लेजुङको पाथीभरा पुग्ने तीर्थयात्री साथै बङ्गाल, बिहार र तेस्रो मुलुकबाट तीर्थाटनका लागि वराहक्षेत्र आउने पर्यटकका लागि लक्षित गरी सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको सञ्चालक राईले जानकारी दिए ।

डेढ वर्षअघिदेखि निर्माण सुरु गरिएको होटल गत पुस १६ गतेदेखि सञ्चालनमा ल्याइए पनि औपचारिक उद्घाटन आज शनिबार गरिएको हो । २ कठ्ठा जग्गामा निर्माण भएको होटलमा डेढ वर्षमा सम्पन्न हुँदा सात करोड रुपैयाँ लगानी भएको सञ्चालक राईले जानकारी दिए ।

होटलमा स्थानीय मौलिक परिकारसँगै विश्वस्तरीय कुजिन र कन्टिनेन्टल परिकार पाइने सञ्चालकको भनाइ छ । 

होटलमा पर्यटकका लागि तत्काल १५ वटा कोठा उपलब्ध छन् । नन् एसी स्ट्यान्डर्ड डबल बेड २ वटा, स्ट्यान्डर्ड ट्रिपल बेड २ वटा, डिलक्स एसी क्विन बेड ४ वटा, सुप्रिम डिलक्स २ वटा, लक्जरी चेम्बर बाथटब अट्याच्ड एउटा र फेमिली रुम एउटा उपलब्ध छन् । प्रतिकोठा प्रतिदिन २ हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म उपलब्ध हुने व्यवस्थापक सङ्गीत सिग्देलले जानकारी दिए ।

होटलमा एउटा कन्फरेन्स हल, २ वटा रेष्टुरेन्ट र किड्स पुलसमेत रहेको सिग्देलले जानकारी दिए । ‘हामीकहाँ किचन डिपार्टमेन्टमा बीसौं वर्षका अनुभवी सेफ छन्’ व्यवस्थापक सिग्देलले भने, ‘यो क्षेत्रमै पहिलो पटक कफी मेसिनबाट उत्पादित कफी सर्व गर्दैछौँ साथै तन्दुर, नानसमेत पहिलोपटक उपलब्ध गराउँदैछौँ ।’