तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् । 

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ । 

भारतको जोगवनीबाट पूर्वी नेपाललाई चीनको ओलाङ्चुङसँग जोड्ने यस करिडोर भएर दैनिक पूर्वी तराईलाई र पहाडका जिल्ला आवतजावत गर्न साना–ठूला सवारी साधन चल्ने गरेका छन् ।

करिडोरमा यातायातको चहलपहल बढेपछि अहिले धनकुटाको साँगुरी गाउँपालिका र चौबिसे गाउँपालिकामा पर्ने २८ किलोमिटर करिडोर सडक किनारमा होटल सञ्चालन गर्ने क्रम बढेको हो । 

पच्चीस वर्षअघि शिक्षा र अवसरका लागि धनकुटा सदरमुकाम आएका चौबिसे गाउँपालिका–३ का केशर लिम्बू अहिले आफ्नै ठाउँमा होटल गर्न फर्किएका छन् । उनले चौबिसे–४ फलामेटारमा यही महिनादेखि त्रिवेणी होटल सञ्चालन गरेका छन् । 

दश वर्षका लागि जमिन र घरभाडामा लिएर २५ लाखको लागतमा होटल र लज सेवा सुरु गरेको लिम्बूले जानकारी दिए । हाल कच्ची सडक भएको अवस्थामा करिडोरबाट दुई सयभन्दा बढी साना–ठूला सवारी साधन आवतजावत गरिरहेका छन् । ‘हाल यस क्षेत्रमा दिन प्रतिदिन होटल थपिने क्रम बढेको छ’, उनले भने । 

यस्तै करिडोरको व्यापारिक सम्भावनालाई देखेर सोही स्थानमा जोरपाटी गाउँपालिका–४ का हरि ओझाले घरभाडामा लिएर सात लाख रुपैयाँको लागतमा होटल सञ्चालन गरिरहेका छन् । उनले दैनिक १५ हजारदेखि ३० हजार रुपैयाँसम्म व्यापार गरिरहेको बताए । 

करिडोर कालोपत्र हुने भएपछि अहिले उक्त क्षेत्रमा होटलको सङ्ख्यामा वृद्धि भइरहेको उनले जानकारी दिए । 

चौबिसे–४ सदमटारकी ४३ वर्षीया सुस्मिता लिम्बू (राउत)ले पनि होटल सञ्चालन गर्नका लागि २० लाख रुपैयाँ खर्चेर पक्की घर बनाएकी  छन् । कृषि पेसामा आबद्ध उनले सडक कालोपत्र भएपछि सानोतिनो होटल व्यवसाय सञ्चालन गर्ने मनस्थिति बनाएकी हुन् । 

त्यस्तै साँगुरीगढी गाउँपालिका–१ का जीवन देवानले पनि धरान–धनकुटा कोशी राजमार्गको मुलघाटस्थित पाँचथर जाने करिडोर प्रवेशद्वार लाबरबोटेमा होटल व्यवशाय थालेका छन् । निर्माण व्यवसायी राईले यात्रु तथा यातायात व्यवसायीको सुझावमा आफ्नो दाजुसँगको सहकार्यमा यही माघदेखि १० लाख रुपैयाँको लागतमा होटल व्यवशाय सुरु गरेका हुन् ।