धरान । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले कोशी प्रदेशको इटहरीमा पाँच दिने ‘क्यान इन्फोटेक’ लगाउने भएको छ । आउँदो फागुन १० गतेदेखि १५ गतेसम्म सुनसरी जिल्ला शाखाको आयोजनामा छैठौँ पटक क्यान इन्फोटेक लगाउने भएको हो ।

सूचना प्रविधिको क्षेत्रमा आएका परिवर्तन र प्रविधिमैत्री समाज निर्माण गर्ने उद्देश्यका साथ क्यान इन्फोटेक लगाउने तयारी गरिएको महासङ्घले जनाएको छ । इन्फोटेकमा विश्व बजारमा आइसिटीको क्षेत्रमा आएका नवीनत्  सामग्रीको प्रदर्शनी तथा बिक्रीसमेत गरिने जनाएको छ ।

यसपटक नेपाली सफ्टवेयर कम्पनीले उत्पादन गरेको सफ्टवेयर स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रबर्धन गर्ने उद्देश्यले सफ्टवेयर प्याबिलोन निर्माण गरेको जनाएको छ । उक्त प्याबिलोनको लागि पनि विशेष सहुलियतमा स्टल उपलब्ध गरिएको जनाएको छ । यसक्रममा नेपालमा सूचना प्रविधिमा भएको नवप्रवर्तनको बारेमा पनि जानकारी गराइने भएको महासङ्घका अध्यक्ष सन्देश राईले जानकारी दिए ।