राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र ‘नागरिक बचाउ महाअभियान’ का संयोजक तथा उद्यमी दुर्गा प्रसाईंले सेना, प्रहरी र कर्मचारीले जम्मा गरेको ३ वटा संस्थाको पैसा मारवाडी व्यापारीले चलाएको अभिव्यक्ति दिएका छन् । 

उनले आफूसँग प्रमाण रहेको भन्दै ‘कर्मचारी सञ्चय कोष, सेनाको कोष र नागरिक लगानी कोषको रकम समेत मारवाडी व्यापारीको हातमा पुगेको बताए । 

‘व्यापारिक घराना र मारवाडीले बैंकबाट चालु पुँजी १० देखि १२ खर्ब रुपैयाँ निक्षेप चलाएका कारण निजी बैंक टाट पल्टिने अवस्थामा पुगेका हुन्। अब यसरी प्रहरी, सेना र कर्मचारीले रकम जम्मा गरेको कोष पनि टाट पल्टिने अवस्थामा पुगेका छन्।’ उद्यमी प्रसाईंले भनेका छन् । 

‘४० खर्ब रुपैयाँ नेपालको पैसा मारवाडीहरूले बाहिर लागेका छन् ।’ मिडिया साक्षात्कारमा उद्यमी प्रसाईंले भने, ‘यही पैसाभित्र ३ वटै कोषको रकम पचाए ।’ उद्यमी प्रसाईंले हाल नेपालमा ७–८ खर्ब रुपैयाँ पैसा मात्र भएको दाबी गरे । 

देशको कुल निक्षेपको ७० प्रतिशतमा ५५ जना व्यापारीको नियन्त्रण रहेको उनको  दाबी छ । ‘एउटा ग्रुपले मात्रै १० खर्ब चलाएको पाइएको छ । तीनै व्यापारीले चालु पुँजी कर्जा १० देखि १२ खर्ब अपचलन गरेका छन् ।’ प्रसाईंले भने । 

अहिले बैंकले नक्कली मुनाफा देखाएको देखाएर सेवाग्राहीलाई भ्रममा पारिरहेकको बताउँदै उनले भने, ‘खासमा बैंकहरुसँग त्यो स्तरको नाफा छैन। यी सबै देखावटी गरिरहेका छन् ।’

यी सबै कोषको पैसा मारवाडी व्यापारीको हातमा भएको कारण ३ वटै संस्थाभित्र चाँडै समस्या उत्पन्न हुने उनको भनाइ छ ।