फरवर्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको विषयमा तथ्यहीन सूचना सम्प्रेषण गरेको भन्दै एक फेसबुक पेजविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिइएको छ ।

‘फरवार्ड लघुवित्त संस्थाले पिडितहरुको बचत फिर्ता नदिएपछि पीडितहरुले संस्था कब्जा गरेको’भन्दै तथ्यहीन प्रचार गरेको फरवर्ड कटहरी शाखाले जनाएको छ । सो प्रचारविरुद्ध नियामक निकायमा उजुरी गरिएको हो । घटनाको २ दिनपछि एसटीपी खबर नामक फेसवुक पेजमा सोही भिडियो राख्दै फरवार्ड लघुवित्त संस्थाले पिडितहरुको बचत फिर्ता नदिएपछि पिडितहरुले संस्था कब्जा गरेको’उल्लेख गरेकोमा फरवार्डले आपत्ति जनाउँदै कारवाहीको लागि काउन्सिलमा उजुरी गरेको शाखा प्रमुख कृष्ण साहले जानकारी दिएका छन् ।

गत माघ ११ गते 'एसटिपी खबर' नाम गरेको फेसबुक आइडीमा 'फरवर्ड लघुवित्त संस्थाले पीडितहरुको बचत फिर्ता नदिएपछि पीडितहरुले संस्था कब्जा गरेको छ' भनी  भिडियो राखी गलत तथा भ्रामक समाचार सम्प्रेषण भएको प्रति गम्भीर ध्यानाकर्षण भएको’ फरवर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत माघ ९ गते कटहरीया रौतहट शाखामा मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति, रौतहटको नाममा केही व्यक्तिको समूहले जबरजस्ती शाखामा प्रवेश गरी ब्यानर, सूचनापाटी च्यात्ने तथा ताल्चा लगाउने, कर्मचारीलाई गालीगलौज गर्ने कार्य गरेको संस्थाले जनाएको छ ।

सोही क्रममा रौतहटको कटहरीया नगरपालिकामा रहेका अन्य लघुवित्त वित्तीय संस्थाहरुमा समेत सोही अनुसारको उत्तेजक कार्य गरी सबै लघुवित्तमा ताल्चा लगाएका थिए । घटनापछि इलाका प्रहरी कार्यालय कटहरीया, रौतहटले सोही दिन साँझ ७ बजे प्रहरीको रोहबरमा वित्तीय संस्थाहरुमा लगाएको ताल्चा खोलेको थियो ।

फरवार्ड माईक्रोफाइनान्स बैंक तथा वित्तीय संस्था ऐन अन्तर्गत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था भएको र संस्थाले विपन्न परिवारका महिलाहरुलाई बिना धित्तो सरल तरिकाले गाँउगाँउमा समूह बनाई लघुकर्जा प्रदान गर्दै आइरहेको, ग्राहक सदस्यहरुबाट भएको बचत रकम निजहरुकै नाममा जम्मा हुने र सो कारोबार अनलाइन पासबुकबाट समेत हेर्न सकिने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

सदस्यहरुबाट बचत खातामा रहेको रकम मागभए कार्यालय समयमा जहिलेसुकै सजिलै भुक्तानी दिने गरिएको हुँदाहुँदै एकपक्षीय समाचार सम्प्रेषण गरेकोमा संस्थालाई बदनाम गर्ने नियत रहेको फरवार्डको ठहर छ ।

‘राष्ट्रिय स्तरमा राम्रो छवि भएको वित्तीय संस्थाको मानमर्दन हुनेगरी गलत तरिकाबाट एकपक्षीय रुपमा सामाचार सम्प्रेषण गरी ग्राहक सदस्यको बचत फिर्ता नदिएको भन्दै सामाजिक सञ्जाल मार्फत स्थापित भइसकेको छविमा असर पुग्ने गरी गरेको कार्यको घोर भत्सर्ना गर्दछौं ।’ कटहरीया शाखा प्रमुख कृष्ण साह सोनारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुनै आधार प्रमाणविना गलत, अफवाह तथा भ्रम फैलाएको र बैकिङ क्षेत्रको अत्यावश्यक वित्तीय सेवामा समेत असर पुग्ने गरी आचारसंहिता विपरीत समाचार सम्प्रेषण गरिएको संस्थाले जनाएको छ ।

'पत्रकार र पत्रिकाको आचरण विपरीत कार्य गरेको पाइएकाले आवश्यक कारबाहीका लागि सम्बद्ध पक्षहरुसँग जोडदार माग गरिएकाे छ ।' जारी विज्ञप्तिमा उल्लेख छ ।