भद्रपुर । नक्कली बिलविजक प्रयोग गरी ६ करोड रुपैयाँ आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेका झापाका सातवटा व्यावसायिक फर्मलाई आन्तरिक राजस्व कार्यालय झापाले पत्र काटेको छ । 

आन्तरिक राजस्व कार्यालय भद्रपुरमा दर्ता भई वस्तु किनबेच नगरी बिल मात्रको खरिद बिक्री गरेको आशङ्कामा कार्यालयले गरेको अनुसन्धानमा ती कम्पनी तथा फर्म फेला पारेको हो । कार्यालयमा दर्ता भई नियमित रूपमा अन्य कर दाताहरू करको दायरामा आए पनि ती फर्महरूले विगत वर्षदेखि आयकर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क कुनै पनि विवरण पेश नगरेको देखिएपछि कार्यालयले गरेको अनुसन्धानमा पहिलो चरणमा सातवटा फर्मले नक्कली बिल प्रयोग गरेको पाइएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले बताए ।

ती फर्महरूलाई ४० लाखदेखि २ करोड रुपैयाँसम्म कर निर्धारण गरेको उनले जनाए । धेरै ट्रेडिङ र केही उद्योग रहेको उनको भनाइ छ । आयकर ऐनका कारण नाम भने सार्वजनिक गर्न नमिल्ने उनले बताए । कार्यालयले कर निर्धारण गरी पन्ध्र दिनको म्याद दिइसकेको उनले बताए । म्यादभित्र प्रमाण पेश नगरेमा स्वतः फर्महरूले कर तिर्नुपर्ने उनको भनाइ छ । झापामा यस्तो कारोबार गर्नेको सङ्ख्या ठूलो भएकोले कार्यालयले तीव्ररूपमा फर्महरू फेला पारेर अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

यस किसिमको कारोबारमा स्वयम् व्यवसायी, कर परामर्शदाता र लेखा व्यवसायीसमेतको संलग्नता प्रारम्भिक अनुसन्धानबाट देखिएकोले थप अनुसन्धान जारी राखिएको उनले बताए । नक्कली बिलको कारोबार गर्ने व्यवसायी र तिनका लेखा व्यवसायीहरूमाथि कडारूपमा छानबिन गरी यो अभियानलाई निरन्तरता दिएर राज्यलाई कर छली गर्नेमाथि कर निर्धारण गरी करको दायरामा ल्याइने कार्यालयले जनाएको छ ।