भद्रपुर । ‘चुनाव आउँछ नेता आउँछन्, जितेर जान्छन् फर्केर आउँदैनन् । जनताका समस्या जस्ताको त्यस्तै ।’

यो भनाइ झापाको दक्षिणी क्षेत्र कचनकवलका स्थानीयवासीको हो । कचनकवलका पक्लावन, पक्ली भिट्टा, लोदाबारीलगायतका स्थानीयवासी नेताहरूले आफूलाई वास्ता नगरेको महसुस गर्छन् । चुनावमा जितेर गएपछि जनप्रतिनिधि एकपटक पनि गाउँ नफर्किएको उनीहरू बताउँछन् । उनीहरू आफ्ना पीडामा कुनै पनि तहले सम्बोधन नगरेको भन्दै आक्रोस पोख्छन् । यी क्षेत्रहरूलाई नेपाल सरकारले नेपाली नभई भारतीयजस्तो ठानेर व्यवहार देखाएकोमा उनीहरूको चित्त दुखाइ छ । प्रदेश र सङ्घको त के कुरा स्थानीय जनप्रतिनिधिले समेत वास्ता नगरेको उनीहरूले गुनासो गरे ।  

‘नेतालाई भोट मात्र चाहिने ?’

भोटको समयमा ‘यो गर्दिन्छु, त्यो गर्दिन्छु’ भन्दै भोट माग्न आएका नेता त्यसपछि अहिलेसम्म मतदाताका घरमा नआएको स्थानीय जैनु मियाँ बताउँछन् । नेताप्रति आक्रोसित उनले नेताकै कारण आफूले दुःख पाएको बताए । ‘हिउँदको समयमा धुलो र वर्षायाममा डुबानसँगै हिलाम्मे सडकका कारण कष्टकर जीवन बिताउन बाध्य छौं’ स्थानीय खलिल मियाँ भन्छन्, ‘पानीको निकास छैन, सडकमा नाला छैन । नेतालाई भोट मात्र चाहिने ?’

सोही बस्तीका नर्जुमान अलीको पीडा उस्तै छ । गाउँपालिकाबाट हालसम्म कुनै सुविधा नपाएको उनी बताउँछन् । गाउँका लागि आएको २ सयभन्दा बढी इन्डक्सन चुलो अहिलेका नेताले गायब बनाएको समेत उनले आरोप लगाए । नेपालका बजारमा अत्यधिक महँगो भएका कारण भारतीय बजारमा नै भर पर्नुपरेको उनको भनाइ छ । नेपालको सबैभन्दा होचो ठाउँ कचनकवल स्तम्भ हेर्न आउने सडकको अवस्था व्यवस्थित नभएको उनीहरुले गुनासो गरे ।

सडक र विद्युत्को माग
खानेपानी, सडक, पानीको निकास नहुँदा बालाबालिकालगायत वृद्धवृद्धामा रोगको सङ्क्रमण फैलिरहने स्थानीय मुख्तार मियाँ बताउँछन् । सडकका कारण वर्षायाममा नानीहरुलाई विद्यालय पठाउन समस्या हुँदै आएको उनको भनाइ छ । उनी भन्छन्, ‘हाम्रो ठाउँलाई नेपालभन्दा छुट्टै राज्यजस्तो व्यवहार गरिँदै आएको छ ।’ जितेर गएका नेताले कुर्सी पाएपछि जनताको समस्या बिर्सिने गरेको उनी बताउँछन् । उनीहरुले सरकारसँग नालासहितको सडक, विद्युत्, खाना पकाउने इन्धनलगायतका माग गरेका छन् ।

‘व्यक्तिगत स्वार्थले समस्या’
सामूहिकभन्दा पनि यहाँ व्यक्तिगत स्वार्थ भएका कारण समस्या आउने गरेको कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए । सङ्घीय र प्रदेशले ठेक्का लगाउने र अलपत्र पारेर छाड्ने प्रवृत्तिले स्थानीय जनप्रतिनिधिलाई काम गर्न समस्या आएको उनको भनाइ छ । स्थानीय तहलाई नै जिम्मेवारी दिन उनले माग गरेका छन् । सबै कुरामा राजनीति हाबी भएर यो समस्या विकराल बन्दै गइरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘सबै क्षेत्रमा हुनसक्ने व्यवस्थापन गर्दै आइरहेका छौं तर, प्रदेश र सङ्घमा जितेर जानेको भूमिका यो क्षेत्रमा देखिएको छैन ।’

sadak