धरान । उदयपुरको बेलका नगरपालिका–८ स्थित कोठुमा सात करोड लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ ।

कोसी करिडोर, तमोर करिडोर, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्गलगायतका राष्ट्रिय महत्वका परियोजनाको ट्रान्जिट पोइन्टका रूपमा विकास भइरहेको कोठुमा ‘होटल कोसी प्यालेस’ सञ्चालनमा ल्याइएको छ । कोसीपुल– मैनामैनी–हसनपुर–घोरेटार हुँदै भोजपुर जाने सडकको मुख्यद्वारमा अवस्थित होटलले आन्तरिक तथा वाह्य पर्यटकको बसाइलाई सुविधाजनक बनाउने लक्ष्य राखेको छ । कोसी नदीमा जल पर्यटनका लागि आउने आन्तरिक पर्यटक, चतरा हुँदै राजधनी जाने यात्री, पश्चिम नेपाल र राजधानीबाट भीमान–गाईघाट हुँदै ताप्लेजुङको पाथीभरा पुग्ने तीर्थयात्री साथै बङ्गाल, बिहार र तेस्रो मुलुकबाट तीर्थाटनका लागि वराहक्षेत्र आउने पर्यटकका लागि लक्षित गरी सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको सञ्चालक सम्पत राईले जानकारी दिए ।

डेढ वर्षअघिदेखि निर्माण सुरु गरिएको होटल गत पुस १६ गतेदेखि सञ्चालनमा ल्याइए पनि औपचारिक उद्घाटन भने आगामी माघ २७ गते हुने बताइएको छ । २ कठ्ठा जग्गामा निर्माण भएको होटलमा डेढ वर्षमा सम्पन्न हुँदा सात करोड रुपैयाँ लगानी भएको सञ्चालक राईले जानकारी दिए ।

होटलमा स्थानीय मौलिक परिकारसँगै विश्वस्तरीय कुजिन र कन्टिनेन्टल परिकार पाइने सञ्चालकको भनाइ छ । ‘वाह्य पर्यटकका रूपमा बढीजसो भारतीय पर्यटक यस क्षेत्रमा आउने भएकाले भारतीय परिकारका विभिन्न स्वाद त अवश्य नै पस्कनेछौँ तर, यहाँका स्थानीय मौलिक परिकारलाई समेत परिचित गराउनेछौँ’ कोसी प्यालेसका व्यवस्थापक सङ्गीत सिग्देलले भने, ‘विशेषगरेर यो क्षेत्रमा आएका पाहुनालाई आतिथ्य सत्कारसहितको स्तरीय आवासीय व्यवस्था मिलाउनेछौँ ।’

होटलमा पर्यटकका लागि तत्काल १५ वटा कोठा उपलब्ध छन् । नन् एसी स्ट्यान्डर्ड डबल बेड २ वटा, स्ट्यान्डर्ड ट्रिपल बेड २ वटा, डिलक्स एसी क्विन बेड ४ वटा, सुप्रिम डिलक्स २ वटा, लक्जरी चेम्बर बाथटब अट्याच्ड एउटा र फेमिली रुम एउटा उपलब्ध छन् । प्रतिकोठा प्रतिदिन २ हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्मका कोठा उपलब्ध रहेको वयवस्थापक सिग्देलले जानकारी दिए ।

होटलमा एउटा कन्फरेन्स हल, २ वटा रेष्टुरेन्ट र किड्सपुलसमेत रहेको सिग्देलले जानकारी दिए । ‘हामीकहाँ किचन डिपार्टमेन्टमा बीसौं वर्षका अनुभवी सेफ छन्’ व्यवस्थापक सिग्देलले भने, ‘यो क्षेत्रमै पहिलो पटक कफी मेसिनबाट उत्पादित कफी सर्व गर्दैछौँ साथै तन्दुर, नानसमेत पहिलोपटक उपलब्ध गराउँदैछौँ ।’

आन्तरिक पर्यटकको आकर्षण बढ्दै
कोसीपुल क्षेत्रमा हाल सञ्चालित होटलहरू भरिभराउ हुन थालेका छन् । होटल, लज तथा रेष्टुराँहरूमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि खचाखच हुन थालेको छ । यही समयमै पिकनिक, सेमिनार तथा तालिमका कार्यक्रमले हलहरूसमेत साता दिनसम्मका लागि बुकिङ हुन थालेको छ ।

स्थानीय मनोरम वातावरण, कोसी नदीको सुन्दर दृश्य, कोसीमा चल्ने जेटबोट र परिकारमा कोसीका माछाको स्वादले समेत आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको सञ्चालकको भनाइ छ । धार्मिक पर्यटनसँगै जल पर्यटन, साहसिक पर्यटन र पर्यापर्यटनलाई जोडेर बेलका र वराहक्षेत्रका निजी क्षेत्रले कोसी आसपासमा लगानी गर्न थालेपछि यहाँ आन्तरिक पर्यटकको आवागमन बढेको छ ।

धरान, इटहरी हुँदै पूर्वी पहाड र उत्तर– पश्चिम भारतदेखि झापा हुँदै आउने पर्यटकको समेत चहल–पहल बढ्न थालेको छ ।