धरान । धरानमा र्याडिकल लाइट प्रा.लि.ले आयोजना गरेको ‘सुमेधा वक्तृत्वकला प्रतियोगिता’ मा  धरान मेघा हिमालयन स्कुलका सम्पन्न सुवेदी प्रथम भएका छन् ।

मङ्गलबार धरान–१३ को वडा कार्यालयस्थित ज्येष्ठ नागरिक तथा बालबालिका केन्द्रको भवनमा सम्पन्न प्रतियोगितमा उत्कृष्ट १० प्रतिस्पर्धीमध्ये प्रथम भएका सुवेदीले नगद १० हजार र प्रमाण–पत्र पाए ।

त्यस्तै युएन नवोदय स्कुलकी स्नेहा निरौला दोस्रो भएर नगद ५ हजार र ज्ञानोदय माविकी अनिसा कार्की तेस्रो भएर नगद ३ हजारसहित प्रमाण–पत्र प्राप्त गरे भने युएन नवोदयका शीतल अधिकारी र शारदा बालिका नमुना मा.वि.की अनुष्का राईले सान्त्वना भएर नगद एक हजारसहित प्रमाण–पत्र प्राप्त गरे ।

र्याडिकल लाइटका निर्देशक हिमाल कार्कीको अध्यक्षता र कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको निर्णायकमा  महेन्द्र बहुमुखी क्याम्पस धरानका उप–प्राध्यापक राजेश विद्रोही र सहिद स्मृति विद्यालयका शिक्षक टङ्क भट्टराई रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य बस्नेतले अहिलेको युवापुस्ता देशको समस्याबाट भाग्ने होइन, यहीँ बसेर देशका लागि केही गर्नु पर्ने बताए । उनले अभिभावकहरूले पनि छोराछोरी विदेश गएकामा गौरव गर्ने भन्दा आफ्नै देशमा काम गर्न प्रोत्साहन गर्नुपर्ने बताए ।

कार्यक्रममा मुख्य प्रायोजक सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का निर्देशक सुरेन्द्र घिमिरे, युएन कलेजका रामबहादुर लिम्बू, धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले, धरान–१४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईलगायतले बोलेका थिए ।

विद्यार्थीको फुर्सदको समयलाई सदुपयोग गरेर उनीहरूको व्यक्तित्व विकासमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न चरणमा छनौट गर्दै फाइनल प्रतियोगिता आयोजना गरिएको आयोजक ¥याडिकल लाइट प्रा.लि.का अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए ।