धरान । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को आयोजनामा धरानमा विद्यार्थीहरूका लागि चार दिने स्याटेलाइट तालिम भइरहेको छ ।

गत बिहीबार धरान–१२ स्थित पब्लिक हाईस्कुलमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईले ब्यानर पढेर तालिमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै नगरप्रमुख राईले विकासका लागि प्रकृति, संस्कृति र प्रविधि सँगसँगै अगाडि लैजानु पर्ने बताए ।

कार्यक्रमका अध्यक्ष तथा नाष्टका आइटी प्रमुख प्रदीप ढोडारीले विद्यार्थी र विज्ञानका शिक्षकहरूलाई आफूले जानेका विषय सिकाउने र आफूले पनि सिक्ने कार्यक्रम रहेको जानकारी दिए ।

त्यस्तै पब्लिक हाईस्कुलका प्राचार्य डा.इन्द्रमोहन झाले विद्यार्थीहरूले यस तालिमबाट फाइदा लिएर भविष्यमा आ–आफ्नो क्षेत्रमा नेतृत्व प्रदान गर्ने आशा व्यक्त गरे । तालिममा सुनसरी र मोरङका २० विद्यालयका विद्यार्थी सहभागी छन् । कार्यक्रममा पब्लिक हाईस्कुलको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो ।