विजयपुर । धरान–१६ स्थित भगवती आधारभूत विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

बुधबार विद्यालयमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल नेपालको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवमा विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीले विद्यालयका आर्थिक, भौतिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ अधिवक्ता विश्वनाथ बास्तोला थिए । उनी विद्यालय स्थापनाका संस्थापक परिवारका सदस्य तथा विद्यालयका पूर्व प्रधानाध्यापक पनि हुन् । वार्षिकोत्सवका अवसरमा विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक अच्युत पराजुली, सचिन नेपाल, मीरा नेपाल, नेपाल बैङ्क लिमिटेड, ग्लोबल आइएमई बैङ्क, अल फर बल, पर्शुराम, अधिकारी, फडेन्द्र पराजुली, अमला सिटौला, राजेशनाथ बास्तोला, सहिद स्मृति, चिरञ्जीवी तिम्सिना, दीपक ढकाल, वाक फर एजुकेशन, कुन्ता शर्मा, अमर बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको कार्यक्रम सञ्चालक तथा शिक्षक विष्णुकुमार लिम्बूले जानकारी दिए ।

सो अवसरमा विद्यालयका कक्षा ८ सम्मका प्रथम, द्वितीय र तृतीय र विभिन्न खेलकुद प्रतियोगिताको विजेता, उपविजेतालाई पनि पुरस्कार वितरण गरिएको थियो ।