भारत अयोध्यामा श्री भगवान रामको बालस्वरुप नुतन विग्रहको मन्दिर प्राणप्रतिष्ठाको अवसरमा जगदगुरु रामानन्दाचार्य सेवा पीठ चतराधामलेसमेत भगवान रामललाको श्री विग्रहको ऐतिहासिक अभिषेक अनुष्ठान, महाआरती र स्तुति आयोजना गरेको छ ।

अभिजित मुहूर्तमा अयोध्या राम मन्दिरको गर्भगृहमा अभिषेकको अनुष्ठान गर्ने कार्यक्रमअनुसार आज पीठमासमेत सोही मुहुर्तमा अनुष्ठान, महाआरती र स्तुति गरिएको पीठका सेवक आकाश शर्माले जानकारी दिए ।

साँस्कृतिक नृत्य र वाद्यवादनका माध्यमबाट श्री वैष्णव रामानन्दाचार्य परम्पराको प्रचार र राम भजनको माध्यमबाट भगवानको स्तुति गरिएको सेवक शर्माले बताए । सोही अवसरमा भक्तजन र आमन्त्रितका लागि भण्डारासमेत आयोजना गरिएको छ ।
'भगवान राम सबैका लागि एक हुनुहुन्छ, सनातन धर्म संस्कार, संस्कृतिको सद्भाव स्थापना र जागरणका लागि महाआरती, स्तुति आयोजना गरेका हौं,' सेवक शर्माले भने ।

राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा विभिन्न स्थानमा विभिन्न धर्मगुरुद्वारा रामकथा आयोजना भइरहेका छन् भने देशका विभिन्न ठाउँमा रामलीलाहरू पनि मञ्चन भइरहेका छन् ।
यससँगै अयोध्यामा सूर्यास्तपछि १० लाख दीप प्रज्वलन गर्ने पर्वको तयारी गरिएको संचारमाध्यममा खबर सार्वजनिक भइरहेको छ । यो अवसरमा नेपालसँगै विश्वभर दीपोत्सव मनाइने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र युपीका सीएम आदित्यनाथ योगीले भारतवासीलाई सूर्यास्तपछि ५ वटा दियो बाल्न आग्रह गरेको खबर छ ।

आज अयोध्यामा नवनिर्मित राम मन्दिरमा राम भगवानको अभिषेकको लागि ८४ सेकेन्डको अति सूक्ष्म शुभ समय निर्धारण गरिएको थियो । सोही मुहुर्तमा नेपालको चतराधामस्थित रामानन्दाचार्य सेवा पीठमा समेत श्रीरामको अभिषेक गरिएको छ ।

चतराधाममा आगामी चैत्र २७ देखि आयोजना हुने पिण्डेश्वर पूर्ण महाकुम्भको अवसरमा जगदगुरु रामानन्दाचार्य सेवा पीठले 'सङ्कटमोचन हनुमत महायज्ञ' आयोजना गर्दैछ । महायज्ञ वैशाख महिनामा हुने पीठले जनाएको छ ।