विराटनगर । झापा कमल गाउँपालिकाकी ४७ वर्षीया निर्मला श्रेष्ठलाई मुखको क्यान्सर भएको एक वर्षभन्दा बढी समय भयो । ऋणपान गरेर हालसम्म चार लाख रुपैयाँ बढी खर्च गरिन् । थप उपचारको लागि उनी अहिले भरतपुर क्यान्सर अस्पताल छिन् । अस्पतालले अझै चार लाख रुपैयाँभन्दा बढी खर्च हुने बताएको छ तर उनीसँग पैसा छैन ।

कडा रोग लागेका व्यक्तिको उपचारका लागि कोशी प्रदेश सरकारले आर्थिक सायहता दिने सुनेपछि उनले स्वास्थ्य मन्त्रालय कोशीमा निवेदन हालेकी छन् । महिनौ बितिसक्यो तर अहिलेसम्म उनले आर्थिक सहायता पाउन सकेकी छैनन् । कडा रोग लागेका बिरामीलाई स्वास्थ्य मन्त्रालयले एकदेखि दुई लाख रुपैयाँ दिँदै आएको छ । ‘आर्थिक सहायता आउँला भन्ने आश छ । कहिले पाउने अहिलेसम्म टुङ्गो छैन’ उनले भनिन् । मोरङ बेलबारी नगरपालिका–४ की ५४ वर्षीया कोमल राई मुटुको रोगी हुन् । उनले पनि स्वास्थ्य मन्त्रालय कोशीमा उपचार सहायताका लागि निवेदन दिएकी थिइन् । मन्त्रालयले उनको बैङ्क एकाउन्ट र चेकको फोटो खिचेर राखेको छ । ‘पैसा सोझै एकाउन्टमा आउँछ भनेर भन्नुभएको छ’ राईले भनिन्, ‘अहिलेसम्म पाउन सकेको छैन । कहिले आउने हो पत्तै छैन ।’ पुस २२ गतेसम्म कोमल र निर्मला जस्तै कडा रोग लागेका एक हजार नौ सय ५३ जना बिरामीले उपचार सहायता आउने आशमा छन् । आर्थिक सहायताका लागि दैनिक निवेदन हाल्ने छन् ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मध्ये ३७ जना बिरामीलाई उपचार सहायता दिने निर्णय गरेको थियो । जसमध्ये ११ जनाले १० लाख ३९ हजार एक सय ८५ रुपैयाँ आर्थिक सहायता लगेको मन्त्रालयको अभिलेखमा देखिन्छ । बाँकी २५ जनाले रकम अभावका कारण चालू आर्थिक वर्षमा मात्र भुक्तानी पाएका छन् । चालू आर्थिक वर्षमा पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो । चालू आर्थिक वर्षमा चार सय ७७ जना बिरामीलाई उपचार सहायता दिने निर्णय गरेको छ । उनीहरूको लागि प्रदेश सरकारले चार करोड ९८ लाख ५९ हजार आठ सय ९० रुपैयाँ भुक्तानी भएको छ । बजेट अभाव देखिएपछि स्वास्थ्य मन्त्रालयले कडा रोग लागेका बिरामीको लागि पाँच करोड रुपैयाँ बजेट माग गरेको छ । तर, अहिलेसम्म बजेट विनियोजन नभएको मन्त्रालयले जनाएको छ । ‘चालू आर्थिक वर्षको लागि विनियोजन गरेको बजेट सकिएपछि आवेदन परेका बिरामीलाई दिन थप बजेट अर्थ मन्त्रालयसँग माग गरिएको छ’ स्वास्थ्य मन्त्रालय कोशीका स्वास्थ्य सचिव डा. सुधा देवकोटाले भनिन्, ‘अहिलेसम्म आएको छैन । आएपछि प्रक्रिया पूरा भएका बिरामीलाई भुक्तानी दिने तयारी गरिएको छ ।’

हालसम्म कडा रोग लागेका बिरामीहरूद्वारा उपचार सहायता लिन स्वास्थ्य मन्त्रालयमा आउने बिरामीको सङ्ख्या बढदै गएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रवीन्द्र निरौलाले जानकारी दिए । प्रदेश सरकारसँग त्यति उपचार खर्च दिने स्रोत नै छैन । स्रोत भए पनि जनताका लागि सरकारी ढिलासुस्ती र झन्झटिलो प्रक्रिया विरक्त लाग्दो छ । तर, सांसदहरूका लागि भने बिल पेस गरेको केही महिनामै उपचार खर्च भुक्तानीको लागि सिफारिस हुने गरेको छ । कोशी प्रदेशका उपसभामुखसहित पाँचजना प्रदेश सभा सदस्यले उपचार खर्चका लागि झन्डै सात लाख रुपैयाँ माग गरेका छन् । उनीहरूले गरेको मागको आधारमा प्रदेशसभामा भर्खरै निर्वाचित सभामुख अम्बरबहादुर विष्टले सरकारलाई सिफारिस गरिदिएका छन् । त्यो पनि पहिलो निर्णयको रूपमा । 

उपचार खर्च माग्नेहरूमा उपसभामुख सिर्जना दनुवार, प्रदेश सभा सदस्यहरू तारादेवी ढकाल, उमाकान्त गौतम, डोल्मा तामाङ र गोपालबहादुर विश्वकर्मा छन् । उपसभामुख दनुवार तत्कालीन मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको प्रदेश सभा बैठक छल्न सुटुक्क काठमाडौँ गएर अस्पताल भर्ना भएकी थिइन् । दनुवारले दुई पटकको उपचार खर्चबापत ८१ हजार नौ सय ९० रुपैयाँ माग गरेकी छन् । यस्तै एमालेकी सांसद तारादेवी ढकालले विभिन्न मितिमा उपचार गराएको भन्दै चार लाख सात सय ७६ रुपैयाँ माग गरेकी छन् । एमालेकै सांसद उमाकान्त गौतमले पनि एक लाख ३८ हजार ६९ रुपैयाँ खर्च भएको निवेदनसहित उपचार खर्च मागेका छन् ।

काङ्ग्रेस सांसद डोल्मा तामाङले ४९ हजार चार सय २६ रुपैयाँ र राप्रपाका गोपालबहादुर विश्वकर्माले ३५ हजार नौ सय १२ रुपैयाँ उपचारमा खर्च माग गरेका हुन् । नवनियुक्त सभामुख विष्टले पदभार ग्रहण गर्दै पाँचजना सांसदको छ लाख ९९ हजार ८२ रुपैयाँ उपचार खर्च मन्त्रिपरिषद्बाट निर्णय गरेर उपलब्ध गराउन मुख्यमन्त्री कार्यालयलाई पत्र लेख्ने निर्णय गरेका छन् । यो निर्णयसँगै सांसदहरूलाई मुख्यमन्त्री कार्यालयले उपचार खर्च उपलब्ध गराउने छ । तर, सर्वसाधारणलाई भने कुन प्रक्रियाबाट कसरी बजेट जुटाउने र उपचार खर्च दिने भन्ने विषयमा सरकार मौन छ ।