ऐतिहासिक क्षेत्र भोजपुरको हतुवागढीमा शिलालेखको अनावरण गरिएको छ । पूर्वको महत्वपूर्ण गढीको रुपमा रहेको उक्त स्थानमा राष्ट्रिय एकता दिवस तथा ३०२ औँ पृथ्वी जयन्तीको अवसरमा शिलालेखको अनावरण गरिएको हो ।

गढी क्षेत्रमा सेनाको गुल्म रहेकाले सेनाले नै त्यसको संरक्षण गर्दै आएको छ । नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी फणीन्द्र थापाले सेनाले गढीको संरक्षणमा गरिरहेको कामसँगै हतुवागढीको इतिहासको बारेमा जानकारी गराएका थिए । यो एउटा महत्वपूर्ण गढी रहेकोले यसको विकास तथा संरक्षणको लागि नेपाली सेनाले पनि भूमिका खेलिरहेको उनको भनाइ छ ।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले गढी संरक्षणसँगै विकासको लागि गाउँपालिकाले आवश्यक काम गरिरहेको बताए । गढी क्षेत्रमा सेनाको गुल्म रहेकाले स्थानीयलाई सहज आवतजावतमा केही समस्या देखिएकाले यसको समाधानको लागि योजनाबद्ध रुपमा काम भइरहेको उनको भनाइ छ । यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

'यो हाम्रो ऐतिहासिक गढी हो', अध्यक्ष राईले भने, 'यसको विकास तथा संरक्षणमा गाउँपालिकाले पनि काम गरिरहेको छ । यसलाई पर्यटनसँग जोडेर संरक्षणमा ध्यान दिएका छौँ । हामीले यसको आसपासमा सङ्ग्रहाय निर्माण गर्ने सोच लिएका छौँ ।'

ऐतिहासिक महत्व बोकेको गढी रहेकाले यसको विकास तथा संरक्षणमा ध्यान दिन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । समाजसेवी ईश्वरमान राईले गढीको संरक्षणमा सेनाले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउँदै, यहाँको गुल्मको स्थायित्वको लागि ध्यान दिनुपर्ने बताए ।

खण्डहरको रुपमा रहेको यो गढीको स्थानीय र सेनाको अग्रसरतामा संरक्षण गरिएको उनको भनाइ छ । हतुवागढी गाउँपालिकामा १ मा रहेको यो गढीमा तत्कालीन किरात राजाहरुले शासन गरेको बताइन्छ । यो गढी समुद्री सतहबाट एक हजार छ सय ३८ मिटर उचाइमा रहेको छ ।