धरान उपमहानगरपालिका क्षेत्रका सडकमा लगाइएको पार्किङ शुल्क कानून विपरित रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान नगर समितिले सञ्चालन गरेकाे हस्ताक्षर अभियान धरानका नगर प्रमुख हर्क साम्पाङले राेक्न लगाएका छन् ।

रास्वपाले बिहिबार बिहान धरानकाे माछाभाैडिमा सञ्चालन गरिरहेकाे अभियान नगर प्रमुखकाे निर्देशन भन्दै नगर प्रहरीले राेकेका छन् । 

नगर प्रहरीले बल प्रयाेग गरेर भएपनि हटाउन निर्देशन आएकाे भन्दै हस्ताक्षर संकलन राेकिदिएकाे पार्टीका नगर सचिव सुमन श्रेष्ठले बताए । उनले धरानमा विवाद उत्पन्न भएकाे पार्किङ शुल्कका विषयमा नागरिककाे अभिमत बुझ्न हस्ताक्षर संकलन गर्दा नगर प्रमुखले निरङ्कुसता प्रदर्शन गरेकाे बताए ।

हस्ताक्षर संकलन सुरु गर्नु अघि ईलाका प्रहरी, ट्राफिक प्रहरी र ईलाका प्रशासनलाई जानकारी गराएकाे उनले बताए । 

नगर प्रमुख साम्पाङले प्रहरी र नगर प्रहरीलाई हिजाे बाटै हस्ताक्षर संकलन राेक्न भन्दै आएका थिए । 

बुधबार भानुचोक स्थित घन्टाघर अगाडि हस्ताक्षर अभियान सुरु भएपछि साम्पाङले लगातार सामाजिक सञ्जालमा रास्वपाकाे विराेध गर्दै लेखिरहेका छन् ।

अभियानमा सहमती जनाउँदै बुधबार मात्र पाँच सय भन्दा बढिले हस्ताक्षर गरेका थिए । तीन दिनसम्म हस्ताक्षर अभियान सञ्चालन गरेर, जनभावना बुझि ज्ञापनपत्र सहित धरान उपमहानगरपालिकामा बुझाउने कार्यक्रम रहेको थियाे ।

उपमहानगरपालिकाले पार्किङ शुल्क उठाउन ठेक्का लगाएपछि ठेकेदारका कर्मचारीले राजमार्ग र सहायक राजमार्गमा रोकिएका मोटरसाईकल, स्कुटर र अन्य सवारी साधन चालकसँग शुल्क उठाउँदै आएका छन् । 

नगर आफैंले निर्माण गरेको पार्किङ स्थलको मात्र शुल्क उठाउन पाउने कानूनी व्यवस्था रहेको छ । तर, धरान उपमहानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने कोशी राजमार्ग र सहायक राजमार्गमा कानुन विपरित शूल्क उठाएको रास्वपाको धारणा छ