प्रदेश प्र्रहरी अस्पतालको विषयलाई लिई सुरू भएको विवाद जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्ने देखिएको छ । मोरङको बेलबारीबासीले मोरङमै प्रदेश प्रहरी अस्पताल हुनुपर्ने र सुनसरीको इनरूवाबासीले पनि इनरूवामै हुनुपर्ने अडानले एउटा समस्या निम्तिएको छ । खासमा अस्पताल कहाँ राख्दा उपयुक्त हुने भन्ने विषयमा निर्माण पूर्व नै टुङ्ग्याइसक्नु पर्ने मुद्दा थियो । यो वा त्यो भन्ने भन्दा पनि आवश्यकता हेरेर निराकरण गरिनुपथ्र्यो तर, त्यसो हुन नसक्दा अहिले दुवैतर्फका जनताले आ–आफ्नै खालका अडान लिएको अवस्था छ । वस्तुगत यथार्थ र सतहीगत विषय दुई फरक विषय हुन् । स्वभाविकै पनि बेलबारीबासीले बेलबारीमै रहेको हेर्न चाहन्छन्, इनरूवाबासीले इनरूवामै होस् भन्ने चाहन्छन् । यो मानवीय स्वभाव पनि हो । यसलाई अन्यथा लिन मिल्दैन । तर, वस्तुवादी भएर निचोडमा पुग्न आवश्यक छ । भावनामा बगेर विवाद गरिनुहुन्न । अहिले दुवैतर्फ भावनामा बगेको देखिन्छ । यो राम्रो कार्य होइन । एउटा प्रहरी अस्पतालको विषयलाई लिएर राजनीतीकरण गरिनु हुन्न । हरेक विषयलाई राजनीतीकरण गरेर नै हामी पछाडि छौँ भन्ने यथार्थलाई पनि भुल्नु हुँदैन ।

प्रहरी अस्पताल कुन स्थानमा उपयुक्त हो भन्ने विषयमा सम्भाव्यता अध्ययन, गुरूयोजनाहरुले निधो गर्ने विषय हो । आवश्यकता दुवैतिर हो । अस्पतालजस्तो अतिआवश्यकीय चिज सबैका लागि चाहिन्छ नै तर, अस्पताल ल्याउने बहानामा राजनीति गर्नु चाहिँ जायज विषय होइन । अस्पताल जहाँ बन्दा पनि सेवासुविधा पाउने प्रहरी र सर्वसाधारणले नै हो । जहाँ बन्दा पनि त्यसबाट पाउने सेवा सबैभन्दा महŒवपूर्ण हो । यसतर्फ चाहिँ दुवैतिरका जनताले सोच्नु आवश्यक छ । यसका लागि विस्तृत अध्ययन गर्न एउटा छुट्टै समिति तयार गरी निकास दिनु उपयुक्त हुन्छ । विवाद सिर्जना गरेर समय लम्ब्याउने कार्य गर्नु हुँदैन । विवादका कारण समय त घर्किन्छ नै, त्यसले थप अन्य विषयहरु निम्त्याउन सक्छ । यसकारण पनि चलखेल हुने वातावरण अर्थात् ‘ब्ल्याक होल’ राखिनु हुँदैन । यसका लागि प्रहरीका उच्चपदस्थ कर्मचारीहरुले पनि चाँडो यसलाई निकास दिनका लागि पहल थाल्नुपर्छ । मानवीय स्वभाव र भावनालाई हेर्नेभन्दा पनि आवश्यकतालाई मध्यनजर गरी भएको भौतिक संरचनाको अवस्थालाई हेरी अगाडि बढ्नु उचित हुन्छ ।

बेलबारीमा त्यस्ता भौतिक संरचना निर्माण छन् भने त्यसलाई पनि अध्ययन गरिनुपर्छ । यस्तै इनरूवामा त्यस्तो भौतिक संरचना छ भने त्यसको बारेमा पनि अध्ययन गरिनुपर्छ । अध्ययनपश्चात् कुन उपयुक्त हुन्छ । त्यो आधारमा अस्पताल निर्माण गरिनुपर्छ । दुवैतिरका लागि एउटा छुट्टै समिति निर्माण गरी उक्त समितिले दिएको प्रतिवेदनका आधारमा काम अगाडि बढाउनुपर्छ । जनताको राय, सल्लाह र सुझावलाई पनि त्यस प्रतिवेदनमा समावेश गराउनुपर्छ । त्यस क्षेत्रका जनता मात्रै हैन, कोशी प्रदेशका जनताको आवाजलाई पनि सम्बोधन गर्ने प्रयास गरिनुपर्छ । सबैको चाहना र भावनालाई समेटेर सोहीअनुसार अगाडि बढ्नुपर्छ । अहिलेको व्यापक समस्या चाहिँ राजनीतीकरण हो । यसले अन्ततः अस्पताल सञ्चालन गर्नमा ढिलाइ गर्नेछ । प्रहरी अधिकारीहरुले पनि आफ्नो ‘इन्ट्रेस’ मा काम गर्नु हुँदैन । आम जनताको भावना र आम प्रहरी कर्मचारीको भावनालाई समेट्ने गरी सम्बोधन गर्नुपर्छ । अहिले सुनसरीको सर्वदलीय बैठकले निष्पक्ष छानबिन टोली गठन गर्ने भनिएको छ । यसले वस्तुस्थितिको अध्ययन गर्नेछ । तर, यो पनि एकपक्षीय हुने सम्भावनाहरु जीवित छ । यसले साँचो अर्थमा प्रतिवेदन बुझाउन सक्छ भन्ने लाग्दैन । त्यसकारण छुट्टै समिति बनाई त्यसआधारमा निचोडमा पुग्ने वातावरण सिर्जना गरिनुपर्छ । त्यसमा सबैले होस्टेमा हैंसे गरेर अगाडि बढ्नु चाहिँ श्रेयष्कर होला ।