राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित नेकपा एमालेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज कोशी प्रदेशको यात्रा सुरु हुँदैछ ।
सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको व्यवस्थापनमा तयारी भइरहेको आमसभा स्थल घुर्मी-हर्कपुर आउने कार्यक्रम छ ।

अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रमका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारलगायतका सम्पूर्ण कार्यक्रमको तयारी पूरा भएको हर्कपुर आइपुगेका नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए ।

आमसभा व्यवस्थापनका लागि राष्ट्रिय युवा सङ्घ, नेपाल खेलकुद महासङ्घलगायतका युवा परिचालित भएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्लाबाट प्रतिनिधित्वका हिसाबले प्रतिजिल्ला २ सय जना प्रतिनिधि परिचालन गरिएको राष्ट्रिय युवा संघका उपाध्यक्ष रमेश तिवारीले जानकारी दिए ।

आमसभास्थल हर्कपुर र घुर्मी बजार क्षेत्र आसपास सयौंका सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । उदयपुरको कटारी हुँदै घुर्मी- हर्कपुर आउने क्रममा कुनै पनि वाधा अवरोध भएको छैन । ओखलढुंगाबाट हर्कपुर आउने एमाले कार्यकर्ताहरुलाई लक्षित गरी केही ठाउँमा  रुख लडाउने काम भएको एमाले ओखलढुंगाका सचिव कमल न्यौपानेले जानकारी दिए ।

पहिचानवादीहरुको घुर्मी-पाँचथर बन्दको आह्वान गर्ने र एमाले आमसभा बिथोल्ने योजना बनाएपछि आमसभा स्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ । सुरक्षा स्रोतका अनुसार विराटनगरबाट सशस्त्र प्रहरीका एसपीको नेतृत्वमा टोली परिचालित भएको छ । उदयपुर र ओखलढुंगा जिल्लाबाट डिएसपीको कमाण्डमा सशस्त्र प्रहरी बल परिचालित भएको छ ।

पाँचथरको चिवाभञ्ज्याङसम्म पुग्ने एमालेको यो यात्राका क्रममा स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा विकासका बीच पहाडी क्षेत्रमा तीव्र बसाइँसराइँ बन्न गएकाले समृद्धिको अभियानअन्तर्गत उक्त क्षेत्रलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा अभियानका क्रममा अवलोकन गरिने एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

आज हर्कपुरको जनसभापछि यात्रा खोटाङको हलेसी हुँदै  दिक्तेल पुग्दैछ । आगामी मङ्सिर २८ गते तेह्रथुमको वसन्तपुरमा हुने जनसभामा
कोशी प्रदेशको विकास र समृद्धिको खाका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्तुत गरिने कार्यक्रम छ ।

सभाहरुमा पार्टीका सबै जनसंगठनलाई परिचालन गरिनेछन्, ठाँऊ विशेषका जातीय झाँकीसहितका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ । 

कोशी प्रदेश अन्तर्गतका सडकहरु घुर्मी, हर्कपुर, हलेशी, दिक्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरीखिम्ति, म्याङलुङ, संक्रान्ति बजार, छातेढुङ्गा चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु र च्याङथापुमा स्वागत गेटहरु निर्माण गरिने र हरेक कार्यक्रमहरुमा स्वयमसेवकहरुले प्रत्यक्ष निगरानी राख्ने र सम्पूर्ण कार्यक्रमको सुरक्षामा स्वयमसेवकहरु परिचालन हुने स्वयम्सेवक उपसमितिका संयोजक तथा कोशी प्रदेश सदस्य बाबुराम थापाले जानकारी दिए।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल, किसानसँग अन्तर्कृया, कृषि वैज्ञानिकसँग संवाद, विकास कार्यको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिकस्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझाव सङ्कलन गरिएका छन् ।

एमालेको केन्द्रीय टोलीमा अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायत सहभागी छन् ।