संचारकर्मी तथा चलचित्र निर्देशक लक्ष्मण सुबेदीको फिल्म केन्द्रीय चलचित्र जाँच समितिबाट पास भएको छ । सामाजिक कथावस्तुमा निर्मित चलचित्र ‘सतीदेवी’ ले केन्द्रीय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल (यु)  सर्टिफिकेट प्राप्त गरेको छ ।

सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘सतीदेवी’लाई चलचित्र सेन्सर बोर्डबाट समेत उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

निर्देशक सुवेदीले भने–‘हामीले उठान गरेको कथावस्तुले सबैको मन छोएको छ । सेन्सर बोर्डका सबै कर्मचारीहरूले फिल्म राम्रो बनेको भन्दै प्रशंसा गर्नुभयो । अब, हामी दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छौँ ।’

यो फिल्मको मङसिर २५ गते धरानमा विशेष शोको समेत आयोजना हुँदैछ । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको आयोजनामा फिल्मको विशेष शो आयोजना हुन लागेको हो । यस्तै, मङसिरको २६ गते फिल्मको विशेष शो बिर्तामोडमा हुँदैछ ।

शोमा सहभागी हुनका लागि नायिका मलिका महत र निर्देशक सुवेदी धरान र बिर्तामोड पुग्नेछन् ।

निर्देशक सुवेदीका अनुसार फिल्मको नाम सतीदेवी भए पनि हिन्दू धर्मकी देवी सतीदेवीबारे हुने छैन। फिल्मले एक ग्रामीण युवतीको संघर्षको कथा भन्नेछ।

दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन वैशाखदेखि सुरू भएको थियो । फिल्ममा मलिका महत, भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, सन्दीपबाबु लोहनीलगायत कलाकारको अभिनय रहेको छ ।

'यात्रा' बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी मलिका पछिल्लाे समय फिल्म 'पानीफाेटाे' मा देखिएकी थिइन्। फिल्म 'सतीदेवी'को 'फर्स्टलुक' सार्वजनिक भएसँगै फिल्मले चर्चा पाएको थियो । नायिका मलिका महतको नयाँ अवतारलाई दर्शकले रुचाएका छन् ।