फिल्म ‘चारदाम’ को ट्रेलरसँगै गीत सार्वजनिक गरिएको छ ।

इटहरीमा शनिबार एक कार्यक्रम गरी तामाङ जातिहरुको लोप हुँदै गएको भाषा, लिपी, भेषभूषा, कला र संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म चारदामको गीतसँगै ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्म युनिटले ट्रेलर र ‘मेरो अँगालोमा’ बोलको गीत सार्वजनिक गरिएको जानकारी दिएको छ । मोहन लोप्चन तामाङ प्रस्तुती रहेको फिल्म कोशी भिजनको ब्यानरमा निर्माण गरिएको छ । सार्वजनिक गरिएको ट्रेलर र गीतलाई युट्युबमा भने निर्माण कम्पनी कोशी भिजनकै नाममा रहेको युट्युब च्यानलबाट सार्वजनिक गरिने निर्माण युनिटले बताएको छ ।

ट्रेलर तथा गीत सार्वजनिक कार्यक्रमम नेपाल तामाङ घेदुङ केन्द्रीय संरक्षक सदस्य मनु मोक्तान, लक्ष्मण मोक्तान, जिल्ला उपाध्यक्ष हस्त पाख्रिन, नगर अध्यक्ष मोहन लोप्चन, महिला नगर अध्यक्ष कोपिला घिसिङ, संघीय सदस्य जानुकला पाख्रीन, फिल्म नाङ्साल निर्माता तथा कलाकार गणेश योन्जन तामाङको उपस्थिति रहेको थियो । 

फिल्मको प्रिमियर शो मङ्सिर ३० गते  इटहरीस्थित इलाइट सिनेमा हलमा गरिने भएकाले सबैलाई उपस्थित हुन् प्रस्तुतकर्ता मोहनले आग्रह गरेका छन् । फिल्म युनिटले गत कात्तिक महिनामा दसैँको अवसर पारेर अफिसियल पोस्टर सार्वजनिक गरेको थियो । फिल्म ‘चारदाम’को सम्पूर्ण डिजिटल राइट्स ओएसआर डिजिटललाई बिक्री गरेको छ भने इटहरीपछि काठमाडौं, पोखरा, भोजपुर, धरान, बेलबारीलगायतका ठाउँमा प्रिमियरको तयारी भइरहेको निर्माण युनिटले जानकारी गराएको छ ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायाङ्कन गरिएको यो फिल्ममा ३ ओटा गीत समावेश रहेको छ । फिल्म सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ती पाख्रीन, पूर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बरकुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङलगायतको अभिनय रहेको छ ।

फिल्मलाई मैना घिसिङ, मदनबहादुर राई, पूर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् । यो फिल्ममा दिपक लिम्बू, मुना ठटाल, पूर्ण लिम्बू, जोनी तामाङ र पदम ग्यावाले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाईं, जोनी योन्जनले संगीत गरेको गीतमा निर्देशक लाखमान र पूर्ण लिम्बूको शब्द समावेश गरिएको छ । 

गीतको एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन् । त्यसैगरी सुमन तामाङको छायाङ्कन तथा हेमन तामाङको सम्पादन रहेको फिल्ममा अशोक मण्डलले शृङ्गारको कार्य गरेका छन् ।