विराटनगर । उद्योग स्थापनाकालमा फुटरिङ जोडेको विषयले व्यापकता पाएको सुनसरी दुहबी नगरपालिका–८ स्थित मारुती ग्यास उद्योगले उत्पादन गर्ने सुविधा ग्यासको सिलप्याक सिलिन्डरमा कम तौल भेटिएको विषय कारबाहीको चरणमा पुगेको छ ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले कारबाहीको अन्तिम तयारीमा पुगेको जनाएको छ । कार्यालयले उद्योगलाई स्ट्याण्डर्ड नापतौल ऐन २०२५ अनुसार कारबाही गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो । कात्तिक २१ गते सुविधा ग्यासको उद्योगमा निरीक्षणको क्रममा ९८ वटा सिलप्याक सिलिण्डर चेकजाँच गर्दा ६० वटा सिलिन्डरमा कम तौल भेटिएको गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख शम्भु झाले जानकारी दिए । उद्योगले बजार पठाउने तयारी गरेको सिलप्याक सिलिण्डर परीक्षण गर्दा सुविधा ग्यासले उपभोक्तामाथि ठगी गरिरहेको पाइएको थियो ।

भरिएको सिलप्याक सिलिण्डर कम तौलको भेटिएपछि उपभोक्ता ठगिने गरेको खुलेको हो । गुणस्तर तथा नापतौल कार्यालयको टोलीसहित अनुगमनमा पुगेको प्रशासनको टोलीले सिलबन्द रहेका सिलिण्डर दोहोर्याएर तौलेको थियो । सो क्रममा ६० वटा सिलिण्डरमा २४ ग्राम कम तौल भएको भेटिएको कार्यालय प्रमुख झाले बताए । सिलप्याक सिलिण्डरमा १४.२०० किलोग्राम ग्यास हुनुपर्ने हो । तर, सुविधाको ग्यास सिलिण्डरमा १४.१७६ किलोग्राम मात्र ग्यास रहेको थियो । यसरी कम तौलको ग्यास सिलिण्डर भेटिएपछि अहिले उद्योगबाट नापतौल तथा गुण नियन्त्रण कार्यालयमा बयानको लागि प्रतिनिधि आउने गरेका छन् ।

‘अहिले कारबाहीको अन्तिम चरणमा पुगेका छौँ’ कार्यालय प्रमुख झाले भने, ‘अहिले बयान लिने काम सकिन लागेको छ । त्यसपछि स्ट्याण्डर्ड नापतौल ऐनअनुसार कारबाहीको दायरामा ल्याउनेछौँ ।’ नापतौल ऐनअनुसार एलपीजी सिलिण्डर वा उद्योगको हकमा ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिबाना हुने कानूनी व्यवस्था रहेको छ । यसअघि पनि विराटनगरमा सुविधा ग्यासले बिक्रीका लागि बजारमा पठाएको सिल नतोडिएको सिलिण्डर झण्डै एक किलोग्राम कम तौलको भेटिएको थियो । उद्योगले बिक्रीका लागि विराटनगर बजारमा पठाएको सिलिण्डर चेकजाँच गर्दा तौल कम पाइएको थियो । सिलप्याक सिलिण्डरमा तौल नपुग्नु र खालीमा लेदो भेटिनुले उपभोक्तामाथि ठगी भइरहेको प्रष्ट हुने गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले जनाएको छ ।

६४४ फर्म कारबाहीमा

चालु आर्थिक वर्षको चार महिनामा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले छ सय ४४ वटा फर्मलाई कारबाही गरेको छ ।

नापतौलमा उपभोक्तालाई ठगी गरेको पाइएपछि चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म छ सय ४४ वटा फर्मलाई कारबाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख शम्भु झाले जानकारी दिए । उपभोक्तालाई अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्रमार्फत् ठगी गरेको पाइएपछि कारबाही गरिएको उनले बताए ।

कात्तिक महिनामा मात्र ४८ वटा फर्म कारबाहीमा परेको नापतौल कार्यालयको अभिलेखमा देखिन्छ । साउनदेखि कात्तिकसम्मको तीन महिनामा मात्र पाँच सय ९६ वटा फर्म कारबाहीमा परेका छन् । चार महिनामा ३८ लाख १२ हजार सात सय ६५ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयको अभिलेखमा देखिन्छ ।