बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारीको समय सापेक्ष बढुवा विषयलाई लिएर प्रकट भएको असन्तुष्टी र त्यसमा उठाइएका विषयवस्तु सम्बन्धमा प्रतिष्ठान कर्मचारी र पदाधिकारीबीच सहमति जुटेको छ ।

चार बुँदे सहमतिमा नेपाल सरकार, मन्त्रीस्तरीय निर्णयानुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको च.नं. १ का ८४ मिति २०८० ०७१७ गतेको प्राप्त पत्र सहितको कर्मचारीको प्रस्तावित नियमावली, २०७९ को मस्यौदालाई प्रतिष्ठानका कर्मचारी कल्याण समाजलाई ७ (सात) दिन समयसीमा दिई सुझाव संकलन गर्ने र संकलित सुझाव सहितको मस्यौदा प्रतिष्ठान कार्यकारिणी समितिको सिफारिससहित संचालक परिषदमा स्वीकृतिका लागि पेश गर्ने तथा कर्मचारीहरुको आन्तरिक स्थायी बढुवाका लागि मिति २०७२/०९/२० गते प्रतिष्ठानले प्रकाशित गरेको विज्ञापनमा समावेश रहेकामध्ये अन्तर्वार्ता हुन बाँकी रहेका सबै स्थायी तथा परफर्मेन्स करार सेवाका पदहरुका कर्मचारीहरुको अन्तर्वार्ता मिति २०८० पुष ०१ गतेदेखि शुरु गरी मिति २०८० पुष मसान्त सम्ममा सम्पन्न गर्ने सहमति भएको छ । यस्तै अन्तर्वार्ता सम्पन्न पश्चात एक महिनाभित्र संचालक परिषद्को बैठक बस्न पहल गरी तत्पश्चात नतिजा प्रकाशन गर्ने सहमति भएको छ । 

करार सेवाको कर्मचारीहरुको अन्तर्वार्ता मिति २०८० मङ्सिर १ देखि सुरु गरी मंसिर महिना भित्रै सम्पन्न गर्ने सहमति भएको छ । यस्तै सहमतिको तेस्रो बुँदामा आन्दोलनका कारण प्रतिष्ठान व्यवस्थापनले कर्मचारी कल्याण समाज, समाजको सदस्य र कुनै कर्मचारीप्रति पूर्वाग्रह नराख्ने उल्लेख छ । सहमतिको चौंथो बुँदामा हाल आफ्ना मागहरु उठान गरी आन्दोलनरत सम्पूर्ण पक्षहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु आजैका मितिदेखि स्थगन गरी आ-आफ्नो कार्यमा संलग्न हुने उल्लेख छ ।

दुईपक्षीय सहमतिमा कर्मचारी कल्याण समाजका पदाधिकारी र प्रतिष्ठान पदाधिकारीसँग बिपी प्रतिष्ठान सन्चालक परिसद सदस्य मन्जु भन्डारी, डा. नारायणराज भट्टराई, सदस्य, धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई, नेपाली काङ्ग्रेसका सभापति श्याम पोखरेल, एमाले धरान अध्यक्ष हर्कजंग एभेङ्ग,धरान  १७ का वडाध्यक्ष तथा माओवादी केन्द्रका धरान अध्यक्ष सूर्यबहादुर भट्टराई र जसपा अध्यक्ष ताजुब लिम्बू, नेकपा एसका धरान अध्यक्ष रेवतीरमण राईलगायतको उपस्थिति थियो ।