धरान । सरकारले इजरायलमा मृत्यु भएका १० नेपाली विद्यार्थीको शोकमा मङ्गलबार राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १० नेपाली विद्यार्थीको शोकमा देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । हमासको आक्रमणबाट मृत्यु भएका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ ।

यस्तै द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई फर्काउने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने विषयमा समन्वय गर्ने निर्णय गरेको छ ।

त्यस्तै घटनामा बेपत्ता बनेकाहरूको पनि खोजीमा तीव्रता दिन र घाइतेहरूको तत्काल उपचारका लागि आवश्यक समन्वय गर्ने निर्णय गरिएको उनले बताइन् । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमासको आक्रमणमा परी नेपाली युवाको मृत्यु भएको घटनाले आफू मर्माहत भएको बताए । उनले सामाजिक सञ्जालमार्फत् ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

त्यस्तै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । यता नेकपा (एमाले)ले इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीको उद्धार गर्न माग गर्दै घाइतेहरूको उपचारको व्यवस्था मिलाउन आग्रह गरे । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै आक्रमणमा ज्यान गुमाएकोहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले उक्त हमलाको निन्दा गरेका छन् ।