इनरुवा । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा इनरुवा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडा नेतृत्वको टोलीले बजार क्षेत्रमा रहेका खाद्यान्न तथा मिठाई पसल अनुगमन गरेको हो ।
सहिद गेटबाट सुरु भएको अनुगमनका क्रममा बजार क्षेत्रसम्मका एक दर्जन बढी पसल अनुगमन गरिएको छ । इनरुवा नगरपालिका, उद्योग वाणिज्य सङ्घ इनरुवा, सुरक्षाकर्मीका साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित टोलीले बजार क्षेत्रमा रहेका खाद्यान्न तथा मिठाई पसल अनुगमन गरेको हो ।
टोलीले खाद्यान्न तथा मिठाई पसललाई प्राथमिकतामा राखे पनि उपभोक्ता हितलाई ख्यालमा राखी ग्याँस सिलिन्डर, कस्मेटिक तथा शृङ्गार पसलका साथै दैनिक उपभोग र प्रयोगमा सामान बिक्री केन्द्र थोक तथा खुद्रा पसलसमेतको अनुगमन गरेको छ ।
बेलाबखत बजार अनुगमनलाई अघि बढाउँदै आएको प्रशासनले पछिल्लो पटक नजिकिएको दशैं लक्षित अनुगमनलाई तीव्रता दिएको हो । अनुगमन टोलीका संयोजक प्रशासकीय अधिकृत केशव खतिवडाले स्वास्थ्य हितलाई मध्यनजर गरी अनुगमन संयन्त्र जिल्लाभर परिचालित रहेको बताए ।
खतिवडाले अनुगमनका क्रममा सामान्य भेटिएका कमी कमजोरीलाई सच्चाएर अघि बढ्न निर्देशन दिइएको बताए । उनले व्यापारी वर्गलाई उपभोक्ता हित विपरीतको कार्य नगर्न सुझाएको बताए । साथै उनले सम्भावित कालोबजारी र मूल्य सूचीलगायतका विषयमा भने उपभोक्ता स्वयम् चनाखो र जागरुक हुनुपर्नेमा जोड दिए ।