धरान । लुम्फुङ्वा कल्याणकारी संस्थाको सातौं साधारणसभा धरानस्थित लाङ्घाली भवनमा शनिबार सम्पन्न भएको छ ।
सभामा कार्यवाहक सचिव कर्णबहादुर लुम्फुङ्वाले संस्थाको प्रगति तथा आगामी योजना प्रस्तुत गरे ।

यस्तै कोषाध्यक्ष उत्तम लुम्फुङ्वाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभाको क्रममा शिक्षक सेवा आयोग उत्तीर्ण भएका शेखर लुम्फुङ्वा, स्नातकोत्तर तह उत्तीर्ण गरेकी भीमकुमारी राई लुम्फुङ्वा र राजनीतिक क्षेत्रका सुवाश लुम्फुङ्वालाई सम्मानित गरिएको अध्यक्ष पूर्णबहादुर लुम्फुङ्वाले जानकारी दिए ।

कार्यक्रममा उनीहरूलाई संस्थाका पूर्वअध्यक्ष एवम् प्रमुख अतिथि नरबहादुर लुम्फुङ्वा, विशेष अतिथि लुम्फुङ्वा वंशावली प्रथम संस्करणका लेखक तथा संस्थापक सचिव लालबहादुर लुम्फुङ्वा र अर्का संस्थापक कोषाध्यक्ष आशबहादुर लुम्फुङ्वाले सम्मानितहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा संस्थाको वंशावली कोषबारे नरप्रसाद लुम्फुङ्वा, मधेश क्षेत्रमा प्रवाह भएको कर्जाको अवस्था बारे मङ्गलबारेका चन्द्रबहादुर लुम्फुङ्वा, लुम्फुङ्वा बचतबारे सुन्दर लुम्फुङ्वा र संस्कार संस्कृतिबारे अंशुवर्मा लुम्फुङ्वाले प्रतिवेदन प्रस्तुत गरेका थिए । लुम्फुङ्वा वंशको हाडजोर्नी एवम् नशा रोग विशेषज्ञ डा. हेम लुम्फुङ्वाले संस्थाले शिक्षा, स्वास्थ्य क्षेत्रमा ध्यानमा राखेर काम गर्नुपर्ने बताए ।

सम्मानित व्यक्तित्व शेखर लुम्फुङ्वाले सम्मानित भएर थप प्रगति गर्ने ऊर्जा पाएको बताए । पूर्व अध्यक्ष नरबहादुर लुम्फुङ्वाले आफू अध्यक्ष हुँदा संस्थासँग तीन लाखको कोष नभएकोमा हाल २५ औं लाखको कोष भएकोमा सन्तुष्ट भएको बताए ।