यातायात मजदुरहरुसँग कार्यथलोमै अन्तर्कृया गर्ने अभियान 'मजदुर कार्यथलो अभियान'अन्तर्गत धरानका मजदुरसँग नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले अन्तर्कृया गरिएको छ । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत १ लाख बढी मजदुरसँग साक्षात्कार गर्ने अभियान देशैभरी सुरु गरिएको छ ।

यातायात मजदुरहरुका लागि राज्यको कानुनबारे जानकारी गराउन मजदुरहरुले काम गर्ने कार्यथलोमै पुगेर नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी गराएका छन् ।

सङ्गठित मजदुरहरुको सदस्यता नवीकरण, नयाँ सदस्यता निर्माण, आर्थिक सङ्कट सहजीकरण र मजदुरलाई पर्ने सङ्कटका विषयमा अभियानअन्तर्गत छलफल गरिएको छ ।

कानुनी हिसाबमा मजदुर सुरक्षित हुनका लागि अन्तर्कृया फलदायी भएको यातायात मजदुर विकी श्रेष्ठले बताए ।

कार्यथलो अभियान नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले गत असोज ६ गतेदेखि देशैभरि संचालन गर्दैआएको छ ।

Majdur abadharana patra

यातायात मजदुरहरु अधिकांश पेशाबाट विस्थापित छन् । 'नेपालमा भन्दा पनि कतारमा यातायात मजदुर  बढी भए,' केन्द्रीय अध्यक्ष ज्वालाले भने, 'साढे तीन लाख मजदुर कतारमा छन्, कारण नेपालमा मजदुर असुरक्षित भए ।'

'कानुनीरुपमा, राज्यबाट र समाजबाटसमेत यातायात मजदुर असुरक्षित भए, पेशामा टिक्ने वातावरण भएन, मजदुरहरु दिनानुदिन जेल जानू पर्ने, ट्राफिक प्रहरीबाट कुटिनु पर्ने, समाजबाट अपहेलित हुनुपर्ने कन्डिसन छ । विशेष गरेर यो पेशामा टिकेर जीवन चलाउँछु भन्ने परिस्थिति बनेन ।' केन्द्रीय अध्यक्ष ज्वालाले भने ।

कार्यथलो अभियानमा केन्द्रीय कमिटीका ४३ जना केन्द्रीय अभियन्ताका रुपमा परिचालित भएका छन् । ७ प्रदेशबाट प्रतिप्रदेश २७  अभियन्ता प्रदेश अभियान्ताका रुपमा परिचालित छन् ।

अभियान प्रत्येक पालिकाका रुट, बसपार्क, गोदाम, सब्जी मण्डीमा केन्द्रित हुनेछ । मङ्सिर ३० सम्म चल्ने अभियानमा सदस्यता विस्तार, नवीकरण, कमिटी विस्तार, मजदुरसँग भेटघाट, स्थानीय नेतृत्वबीचको अन्तर्द्वन्द्व व्यवस्थापन, पुराना तथा सङ्गठनमा योगदान गरेका मजदुर तथ्याङ्क सङ्कलन, समस्या सङ्कलन र समाधानका लागि प्रयत्न गर्ने र श्रम आन्दोलन बलियो बनाउने अभियानको उद्देश्य रहेको अध्यक्ष ज्वालाले बताए ।

अभियानमा १ लाख बढी मजदुरसँग नेतृत्वले प्रत्यक्ष सम्पर्क र साक्षात्कार गर्ने उद्देश्य लिइएको छ ।