गौहत्या गर्ने जोकोहीको हत्या गरेर आए आफूले जिम्मा लिने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका हिन्दू धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा श्रीनिवासविरुद्ध बिहीबार मुद्दा दर्ता भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

मंगलबार बराहक्षेत्रस्थित चक्रघट्टी आश्रमबाट पक्राउ परेका उनलाई बुधबार साँझ कारबाहीको लागि धनुषा लगिएको थियो । असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रमममा उत्तेजित अभिव्यक्ति दिएका उनीमाथि मुद्दा चलाइएको हो ।

श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको डीएसपी अवाको भनाइ छ । ‘म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ’,  श्रीनिवासको वयान उद्धृत गर्दै डीएसपी अवाले भने । 

मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसूर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ। कसुरमा एक वर्ष कैद र १० हजार जरिवाना हुन सक्ने उल्लेख छ।

धनुषाको एउटा कार्यक्रममा श्रीनिवासले छाती पिट्दै अभिव्यक्ति दिएका थिए– ’एउटा सन्तका नाताले मेरो व्यक्तिगततर्फबाट म यहाँका युवाहरुलाई के भन्न चाहान्छु भने, आजका दिनबाट उप्रान्त जसले गाई काटेर मिडियामा राखेको छ र जसले गाई काट्छ त्यो व्यक्तिलाई गएर तपाईंले खुकुरी लिएर गएर काटिदिनुस तपाइँलाई दश वर्षसम्म जेलमा पाल्ने काम म गर्छु । तपाईंको पत्नी, बच्चा, परिवारलाई दश वर्षसम्म तपाईं जेल बसुन्जेल भिख मागेर ल्याएर पाल्ने काम म गर्छु, आँट गर्नुहोस् हिम्मत गर्नुहोस् ।’

यसअघि  २५ चैत  २०७४ मा आचार्य श्रीनिवासले धार्मिक द्वेष फैलाएको र आफैंलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए । वराहक्षेत्रस्थित चक्रघट्टीमा उनको आश्रम रहेको छ । श्री लक्ष्मी वैङ्कटेश्वर मन्दिर निर्माण गर्न जनस्तरबाट समेत चन्दा सङ्कलन गरी निर्माण गर्ने चर्चा चलेको दशक बितिसक्दा पनि सो मन्दिर निर्माण हुन सकेको छैन । अतिवादी अभिव्यक्तिका कारण श्रीनिवास  पछिल्लो समय विवादित बन्दै आएका छन् ।