इजरायली सेनाले आइतबार बिहान पश्चिम किनारमा दुई  जना प्यालेस्टिनीको गोली हानेर हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नुर शाम्स शरणार्थी शिविरमा भएको  झडपका क्रममा दुई जना प्यालेस्टिनीको टाउकोमा गोली लागेर मृत्यु भएको उक्त मन्त्रालयले  बताएको छ । मन्त्रालयका अनुसार  २२ वर्षीय ओसैद अबु अली र ३२ वर्षीय अब्दुल रहमान अबु दगासले ज्यान गुमाएका छन् । 

इजरायली सेनाले पनि आतङ्वादविरुद्धको कारबाहीमा दुई जना प्यालेस्टिनी मारिएका पुष्टि गरेको छ । गत वर्षको प्रारम्भदेखि पश्चिम किनारमा इजरायल–प्यालेस्टाइन द्वन्द्व भीषण भिडन्तमा परिणत भएको छ । गत मङ्गबारदेखि त्यहाँ भड्किएको हिंसामा परी कम्तीमा आठ जना प्यालेस्टिनी मारिएका छन् । 

शिविरबाट इजरायली सेनाले भारी मात्रामा विष्फोटक पदार्थ, उपकरण र हतियार बरामद गरिएको एक विज्ञप्ति निकालेर जनाएको छ । शिविरबाट संदिग्ध आतङ्वादीहरूले गोलीसहित  विस्फोटक उपकरणबाट आक्रमण गरेपछि प्रतिरक्षात्मक कारबाही गरिएको स्पष्ट गरेको छ ।  

सन् १९६७ मा छ दिनको युद्धपछि इजरायलले पश्चिमा किनारमा आफ्नो नियन्त्रण कायम गरेको छ । स्वतन्त्र प्यालेस्टाइन राज्यको माग गर्दै आएका प्यालेस्टिनीहरूले  छ दिने युद्धमा कब्जा गरेको सबै भूभागबाट इजरायल फिर्ता  हुनुपर्ने र त्यहाँका यहूदी बस्तीहरू भत्काउनुपर्ने माग गर्दै आएका छन् । यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कट्टर दक्षिणपन्थी गठबन्धन सरकारले बस्ती विस्तारलाई अगाडि बढाएको छ ।