विराटनगर । विराटनगर–५ चाँदनी चोकस्थित अनन्त निरौलाले सञ्चालन गरेको ‘निरौला टे«डर्स’ मा एक सय किलोग्रामको इलेक्ट्रिक ‘काँटा’ अनुमतिविनै सञ्चालनमा ल्याएको पाइएको छ ।

निरौलाले विगत ६ वर्षदेखि चाँदनी चोकमा हार्डवेयरको सामान बिक्री वितरण गर्ने काँटा सञ्चालनमा ल्याएका थिए । हार्डवेयरले इलेक्ट्रिक ‘काँटा’ राखेर सामग्री बिक्री वितरण गरेको ३० दिनभित्रमा  गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । तर, निरौला टेडर्सले विगत ६ वर्षदेखि अनुमतिविनै काँटा सञ्चालन गरेको शुक्रबार गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले  गरेको अनुगमनको क्रममा भेटिएको छ ।

अनुगमनपछि निरौलालाई तीन दिनभित्र सम्पूर्ण कागजपत्र लिएर कार्यालयमा हाजिर हुन निर्देशन दिएको गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका निरीक्षक रजनिस साहले जानकारी दिए । अनुगमनको क्रममा निरौला टे«डर्समा सञ्चालनमा रहेको काँटा दर्ताविना सञ्चालन गरेको पाइएपछि प्रक्रियामा आउनको लागि तीन दिनको समय दिएको बताए । दर्ता विना सञ्चालन गर्ने पसललाई नापतौल ऐनअनुसार कारबाहीको दायरामा ल्याउने उनले बताए । ‘अहिले हामीले सम्पूर्ण कागजपत्र लिएर कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौँ’ उनले भने, ‘थप अनुसन्धानपछि कैफियतअनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’

निरौला टे«डर्सले रडमा ट्रयाक चेन्ज गरेर रड बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ । उनले एक सय ९ केजी तौलको ट्रयाक भएको रड बिक्री गरेपछि ९० देखि ९७ केजी रडमा ट्रयाक लगाउने गरेको आरोप छ । यसरी ट्रयाक चेन्ज गरेको रड उनले अन्य खुद्रा पसलहरूभन्दा प्रतिकेजी २ रुपैयाँ  सस्तोमा उपभोक्तालाई बिक्री गर्दै आएका थिए । यस विषयमा पनि अनुसन्धान गर्ने गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ । बिहीबार एक जना उपभोक्ताले ५ केजी काँटी खरिद गर्दा २ सय ५० ग्राम कम तौल भेटिएको थियो । यता निरौला टे«डर्सका सञ्चालक अनन्त निरौलाले विविध कारणले दर्ता गर्न ढिलाइ भएकोले गर्दा अब गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति लिएर काँटा सञ्चालन गर्ने बताए । तौलको विषयमा भने पसलबाट कुनै पनि उपभोक्तालाई कम तौलको सामग्री नदिएको दाबी गरे ।