धरान । ग्याष्ट्रिकजस्ता सामान्यजस्तो लाग्ने रोगदेखि लिएर क्यान्सरजस्ता रोगबाट बच्न बेलैमा सचेत हुनुपर्ने डा. सन्दीपराज बज्राचार्यले बताएका छन् ।

पेटसम्बन्धी जटिलभन्दा जटिल समस्या भए पनि यसको उपचार र खानपानमा ध्यान दिनसके रोगको निदान पनि गर्न सकिने डा.बज्राचार्यले बताए । ज्ञानमाला सङ्घ सुनसरीले आफ्नो रजत जयन्तीको अवसरमा बुद्ध विहार धरान–८ मा आयोजना गरेको स्वास्थ्य शिविरमा डा.बज्राचार्यले त्यस्तो बताएका हुन् । शिविरमा ६८ जना बिरामीको जाँच गरिएको थियो । बिरामीहरूलाई म्याग्नस फर्माले आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको थियो भने बिर्तामोड डायोग्नोस्टिक सेन्टर एण्ड पोलिक्लिनिक धरानले निःशुल्क प्रेसर, सुगर जाँच गर्नुका साथै सहुलियत दरमा अन्य जाँच गर्ने सुविधा प्रदान गरेको कार्यक्रम संयोजक रेवा श्रेष्ठले बताइन् ।

ज्ञानमाला सङ्घ सुनसरीका अध्यक्ष रमना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बुद्धविहार धरान–८ की अध्यक्ष ज्ञानलक्ष्मी ताम्राकार प्रमुख अतिथि रहेकी थिइन् । बुद्धको शिक्षालाई भजनको माध्यमद्वारा जनमानसमा पु¥याउनु ज्ञानमाला सङ्घको उद्देश्य भएको अध्यक्ष श्रेष्ठले बताउँदै आरोग्य हुनु र आरोग्य हुन सहयोग गर्दा ठूलो पुण्य लाभ हुने कुरा भगवान बुद्धले बताएको कुरा स्मरण गराउँदै चिकित्सक एवम् सम्पूर्ण टिमलाई आभार व्यक्त गरिन् ।

रजत जयन्ति विभिन्न कार्यक्रम गरेर मनाउने क्रममा यस वर्ष निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर आफूहरूलाई पनि सेवा गर्ने अवसर दिएकोमा डा. सन्दीप बज्राचार्यले खुसी व्यक्त गर्दै सामाजिक काममा आफू सधैँ समर्पित हुने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा शिविर व्यवस्थापन समितिका सदस्य मोहन श्रेष्ठ, महिला सञ्जालकी पूर्व अध्यक्ष शिला बज्राचार्यलगायत सङ्घका पदाधिकारी एवम् विहारका उपासक उपासिकाहरूको बाक्लो उपस्थिति रहेको थियो । शिविरको औपचारिक कार्यक्रमको सञ्चालन चन्द्रा हलवाईले गरेकी थिइन् ।