तपाईं हाम्रो घरआँगनमा एकाबिहानै आइपुग्ने दैनिक पत्रिका हो ब्लाष्ट । बच्चादेखि वृद्धसम्म सबैको जनजीवनमा भिजेको साथी हो ब्लाष्ट । यसको सरलता, स्वच्छता, निर्भिकता, पारदर्शिता,  निष्पक्षता र नियमितता नै ब्लाष्टको पहिचान बनेको छ । राजधानी (काठमाडौँ) भन्दा बाहेक मोफसलबाट प्रकाशनको समय (२९ वर्षदेखि) निरन्तर रूपमा हालसम्म ब्लाष्टले आफ्नो दायित्व निर्भिकताको साथ पूरा गर्दै आइरहेको छ । यति लामो कालखण्डमा विभिन्न आरोह–अवरोहबीच पनि सफलतापूर्वक सबै किसिमका पाठकहरूलाई ब्लाष्टले सन्तुष्टि दिँदै आएको छ ।

कुनै पनि कार्य, परियोजना थाल्नु ठूलो कुरो हैन तर, जुन दूरदृष्टि, ध्येय र उद्देश्यका साथ कार्य सुरु गरिएको हुन्छ, त्यसलाई निरन्तरता दिएर गन्तव्यसम्म पुर्याउनु चाहिँ कठिन कार्य हुनजान्छ । त्यसमाथि पनि वर्तमान परिपे्रक्ष्यमा पत्रकारिताजस्तो जिम्मेवार, संवेदनशील र कठिन व्यवहारलाई आम सर्वसाधारण जनतामाझ निष्पक्षताका साथ पारदर्शीरूपमा निडर, निर्भिक भएर सुसूचित गर्नुपर्ने दायित्व पत्रकारितामाथि रहन्छ । त्यो कुरा ब्लाष्ट प्रकाशनले सफलतापूर्वक सम्पन्न गरेको अनुभूति मैले गरेको छु ।

पत्रकारिता आफैमा पनि एउटा जोखिमपूर्ण यात्रा हो । बडो लगन, मेहनत, इमान्दारिता, बौद्धिकता र विवेकको आवश्यकता रहन्छ, पत्रकारिता क्षेत्रमा । यी सबै पक्षहरूलाई समेटेर अगाडि बढ्नु नै यस पत्रिकाको गरिमामय इतिहास रहेको छ । यसको लागि म व्यक्तिगतरूपमा यस संस्थासँग आबद्ध सम्पूर्ण जिम्मेवार व्यक्तिहरू र ब्लाष्ट परिवारलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु ।

धरानमा मात्र हैन, यस पत्रिकाले कोशी प्रदेशका सम्पूर्ण चौधवटै जिल्लाहरू, मधेश प्रदेशका चार जिल्ला र वागमती प्रदेशको सिन्धुपाल्चोकसम्म आफ्नो पहुँच विस्तार गर्न सफल भएको छ । म केही वर्षदेखि निरन्तर रूपमा यस पत्रिकामा प्रकाशित समाचारहरू, सम्पादकीय र लेख, रचनाहरू अध्ययन गर्दै आइरहेको छु । मेरो मूल्याङ्कनमा सबै विधाहरूमा यस पत्रिकाको कभरेज सकारात्मक नै पाएको छु । तर, कहिलेकाहीँ कता–कता विज्ञापनमुखी भएको हो कि भन्ने पनि महसुस हुन्छ तर, विडम्बना, नेपाल सरकारले पत्रिकाहरूमाथिको असमान व्यवहार, दिनुपर्ने आवश्यक न्यूनतम् सुविधाहरू पनि प्रदान गर्न नसकिरहेको अवस्थामा पत्रिका प्रकाशनलाई निरन्तरता दिनका लागि पनि विज्ञापन विना पत्रिका चलाउन सक्ने अवस्था पनि देखिँदैन । तसर्थ आर्थिक स्रोत जुटाउनु पनि अपरिहार्य देखिन्छ । विगत एक दशकदेखि विद्यमान देशको विभिन्न उद्योगधन्दा, कलकारखाना, पर्यटन व्यवसाय, साना तथा मझौला उद्योगहरू चलायनमान नहुँदा देशले आर्थिक मन्दीको मार खेप्नुपरेको छ । त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पत्रकारिता व्यवसायमा पनि पर्न गएको छ । यस्तो विषम परिस्थितिमा पनि आफ्नो जुन उद्देश्यका साथ ब्लाष्ट प्रकाशन निरन्तर अघि बढिरहेको छ, त्यो निश्चय नै कठिन कार्य हो । त्यसका लागि ब्लाष्ट परिवारलाई धन्यवाद नदिई रहन सकिँदैन ।

देशको वर्तमान अवस्था नियाल्ने हो भने सम्पूर्ण जनमानसमा निराशा बढेको पाइन्छ । विशेषगरेर नेपालका युवाहरू विदेश पलायन हुने लर्को प्रत्येक दिन झन् बढ्दो छ । शिक्षित पढेलेखेका युवा उच्चशिक्षा अध्ययनका लागि भनेर अमेरिका, अष्ट्रेलिया, वेलायत रोज्छन् । ग्रामीणभेगमा बसोबास गर्ने युवा रोजगारीका लागि अरबका खाडी मुलुक र मलेसिया, पोर्चुगल, दक्षिण कोरिया, जापान पुग्छन् । विदेशिने युवाको सङ्ख्या प्रत्येक वर्ष बढ्दो छ । गत आर्थिक वर्षमा मात्रै यसरी विदेशिनेको सङ्ख्या झण्डै आठ लाखमाथि पुगेको छ । तीमध्ये कतिपय मानव तस्करीको जालोमा फस्छन् र आफ्नो जिउधन, सम्पत्ति दुवै गुमाउँछन् भने त्यसको प्रत्यक्ष असर देशभित्र युवाशक्तिको अभाव बढ्दो छ । पहाड र मधेशका गाउँहरू रित्तिएका छन् । भर्खरै गाउँमा विकसित हुँदै गएको कृषि सहकारी, पशुपालन, तरकारी खेतीलगायत कृषि व्यवसाय सङ्कटग्रस्त अवस्थामा पुग्न थालेका  छन् । यस्तो जटिल अवस्थामा पत्रकारिता क्षेत्रले पनि सरकार र सरोकारवाला सबैलाई सचेत र जागरुक गराउनु पर्ने अवस्था रहन्छ । यस्ता सन्दर्भका लेख रचनाहरू पनि ब्लाष्टमा प्रकाशन भैरहेको पाएको छु । अन्त्यमा अझ सशक्त रूपमा यस पत्रिकाले आगामी दिनहरूलाई आफ्ना पाठकहरूमाझ राम्रो छवि बनाएर एउटा इमान्दार, निर्भिक र निडर पत्रकारिताको नमुना पेश गर्न सफल बनोस् भन्ने २९ औं वर्ष प्रवेशको शुभकामना व्यक्त गर्न चाहन्छु ।