सामुदायिक विद्यालयमा निजीकरणको आरोप खेपिरहेका विद्यालयको सूचीमा पर्छ धरानस्थित पब्लिक हाइस्कुल । सामुदायिक विद्यालयले माध्यमिक तहसम्म कुनै पनि वहानामा रकम असुल्न पाउँदैनन् । तर पब्लिक हाइस्कुलले शैक्षिक सेवा सुविधाका नाममा विद्यार्थीबाट रकम लिने गरेको छ । र, विभिन्न विधामा निजीजस्तै गरी शिक्षण सिकाइसमेत सञ्चालन गर्दै आएको छ । 

अध्ययन अध्यापनमा अब्बल रहेको विद्यालयलाई नमूना विद्यालय घोषणा गरिएको थियो । तर विद्यालयको हाल नतिजा भने खस्किंदै गएको देखिएको छ । पब्लिक हाइस्कुलले कक्षा १२ मा नतिजा सन्तोषजनक देखिएको छैन । अन्य ५ विद्यालयले उछिन्दा पब्लिक नतिजामा छैठौं स्थानमा देखिएको छ  ।   

धरान उपमहानगरपालिकामा सामुदायिकतर्फ मावि तहमा कक्षा ११ र १२ सञ्चालित विद्यालय १४ वटा छन् । कक्षा १२ को नतिजामा नमूना विद्यालय भनिंदै आएको पब्लिक हाइस्कुलभन्दा अन्य ५ विद्यालय अगाडि देखिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को नतिजामा पब्लिक हाइस्कुलका ७ सय जना विद्यार्थी सहभागी भएकोमा १ सय ५५ जना विद्यार्थी मात्रै उत्तीर्ण भए । जुन कुल विद्यार्थीको २२.१४ प्रतिशत हो । 

चन्द्र संस्कृत मा.वि.बाट ८१.४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २७ विद्यार्थी परीक्षामा सहभागी भएकोमा २२ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

शारदा बालिका नमुना माविका विद्यार्थी ४१.९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शारदा बालिकाबाट कुल ६२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा २६ जना उत्तीर्ण भएका छन् । सरस्वती मा.वि. पानबारीका ३५.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कुल ८४ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३० जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

धरान–१३ स्थित पब्लिक मावि फुस्रेबाट ३५.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कुल ४८ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १७ जना उत्तीर्ण भएका छन् । 

ल्याबोरेटरी मा.वि.मा २६.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ल्याबोरेटरीबाट कुल ३४ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ९ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

पब्लिक हाइस्कुलका एक जना प्राविधिकतर्फका विद्यार्थीले मात्र अन्य विद्यालयभन्दा बढी ३.७३ जिपिए ल्याएका छन् । सामान्यतर्फका विद्यार्थीको जिपिएमा अन्य विद्यालयका विद्यार्थीले नै बढी ल्याएका छन् । 

सामान्यतर्फ पब्लिकका विद्यार्थीले ३.४२ जिपिए ल्याएका छन् भने सरस्वती मा.वि.का विद्यार्थीले ३.५२ जिपिए ल्याएका छन् । यस्तै शिक्षा निकेतन मा.वि.का सामान्यतर्फका विद्यार्थीले ३.५ जिपिए ल्याएका छन् भने चन्द्र संस्कृत मा.वि.का विद्यार्थीले ३.४८ जिपिए ल्याएका छन् ।

शिक्षा निकेतन मा.वि.मा १९.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट २ सय ४३ विद्यार्थी परीक्षामा सहभागी भएकामा ४७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । निकेतनबाट सबैभन्दा बढी जिपिए ३.५ आएको छ । सामान्यतर्फको ११ जनाले ३ भन्दामाथि जिपिए ल्याएका छन् ।

शिक्षा सदन मा.वि.का १६.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा कुल १ सय ८१ विद्यार्थी सहभागी भएकोमा ३० जना विद्यार्थी उत्तीर्ण भएका छन् । सबैभन्दा बढी ३.४१ जिपिए ल्याएका छन् । 

ज्ञानोदय मा.वि.का कुल विद्यार्थी १ सय ५३ जना विद्यार्थी परीक्षामा दिएकोमा २२ जना उत्तीर्ण भएका छन् । सबैभन्दा उच्च जिपिए ३.१८ रहेको छ । पञ्चकन्या मा.वि.बाट कुल ६७ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । भालढुङ्गा मा.वि.बाट कुल ३८ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ७ जना उत्तीर्ण भएका छन् । 

सबैभन्दा बढी जिपिए ३.०८ ल्याएका छन् । दन्तकाली मा.वि.बाट ३ जनाले परीक्षा दिएकोमा २ जना उत्तीर्ण भएका छन् । उपमहानगरको कक्षा ९ देखि १२ सञ्चालित विद्यालयमध्ये दुई विद्यालयको तथ्याङ्क उपलब्ध भएको छैन ।