राष्ट्रको पहिलो अंग प्रजातन्त्र र चौथो अंगको रुपमा मान्यता प्राप्त चुनौतीपूर्ण यात्रा पारगर्दै मान्यता प्राप्त अखबार पत्रिकाहरु मध्ये साविक पूर्वाञ्चल (हाल कोशी प्रदेश) को धरानमा स्थापित मोफसलको पहिलो ठूलो आकारको रंगीन राष्ट्रिय दैनिक ब्लाष्ट पत्रिका हो ।

नेपालमा पत्रकारिताको इतिहास वि.सं.१९५८ सालमा श्री ३ देव शम्सेरबाट गोरखापत्रको प्रकाशनबाट सुरु भएको भए पनि व्यावसायिक पत्रकारिताको इतिहास भने धेरै आरोह अवरोहहरु पार गर्दै २०४६ सालको राजनीतिक परिवर्तन पछिमात्र शुरु भएको मानिन्छ । परिवर्तनको त्यसैकाल २०५२ साल भदौ २३ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता भई ब्लाष्ट टाइम्स दैनिक २०५२ आश्विन २ गते देखि धेरै आरोह–अवरोहहरु पार गर्दै वि.सं.२०८० साल आश्विन २ बाट २८ औं वर्ष पार गरि २९औं वर्षमा प्रवेश गर्दैछ ।

राजधानी काठमाडौं उपत्यका पूर्वमा रहेको सुन्दर नगरी धरानलाई पत्रकारिताको उर्वर भूमि मानिन्छ । सर्वप्रथम धरानमा वि.सं.२००६ सालमा पत्रकारिताको पहिलो यात्रा राणा शासनको एकतन्त्रीय उकुस–मुकुस र जर्जर अवस्थामा श्री पब्लिक हाइस्कूलबाट प्रकाशित हस्तलिखित पत्रिका ‘छात्रधारा’ बाट श्री गणेश भएको ईतिहास पाइन्छ । यसैगरी वि.सं. २०१६ सालमा श्री पिण्डेश्वर संस्कृत महाविद्यालय (विद्यापीठ) को संस्कृत छात्रसंघबाट भारतको बनारस स्थित लेटरपे्रसबाट मुद्रित ‘नेपाल’ नामक पत्रिका हो ।

पत्रकारिताको उर्वरभूमी धरानबाट वि.सं.२०२८ देखि प्रकाशित भएका साप्ताहिक पत्रिकाहरु नयाँ चेतना, आरसी, संसार, पूर्व टाइम्स, हिमवाणी, सिरेटो, बिजयपुर, सयपत्री, न्यूज टाइम्स, श्री सूर्य, परिवर्तन, मिराक, एक्शन टाईम्स र धरान साप्ताहिक हुन् ।

यसैगरी दैनिक प्रकाशित पत्रिकाहरुमा परामर्श दैनिक, धरान टुडे, पूर्वेली, धरान टाईम्स, मर्निङ टाईम्स, मर्निङ पोष्ट आदि हुन् । यी मध्ये धरान साप्ताहिक र पूर्व टाइम्स साप्ताहिक बाहेक प्रायः सबैजसो बन्द भए ।

अन्त्यमा ब्लाष्ट टाईम्स दैनिक कोशी प्रदेशका १४ जिल्लाहरुका तराई, पहाड र हिमाली भेगका नेपाली पाठकवृन्दहरुले सोहिदिन समयमै साविक ४ पेजबाट ८ पेजको पत्रिका पढ्ने सुनौलो अवसर पाउन भन्ने कामना गर्दछु ।  ब्लाष्ट टाईम्स निरन्तर यात्रामा रही आँखाको नानी बन्न सफल रहोस्, हार्दिक शुभकामना छ ।
लेखक: कर्माचार्य ब्लाष्ट टाईम्स राष्ट्रिय दैनिक पत्रिकाका नियमित स्तम्भकार हुन्  ।