प्रदेशको नाम नाम खारेजीको माग राख्दै आन्दोलनरत पहिचानवादी दलहरुले झापामा १ हजार ५ सय १ सदस्यीय युवा दस्ता गठन गरेका छन् । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा युवा दस्ता सार्वजनिक भएको हो ।

‘पहिचानका लागि युवा’ नारासहित युवा दस्ता गठन भएको छ । नवगठित युवा दस्ताको संयोजकमा सामी पालुङवा चयन भएका छन् । सह–संयोजकमा सुमन सम्वाहाम्फे र कर्ण राजवंशी तथा सदस्य सचिवमा गौरिमान राई चयन भएका छन् ।

संयोजक पालुङवा लामो समयदेखि लिम्बुवान प्राप्तिको आन्दोलनमा सक्रिय युवा हुन् । राजनीतिक रुपमा खारिएका युवाको नेतृत्वले युवा दस्ताले अघि सारेको आन्दोलन सफल बनाउन मदत पुग्ने विश्वास पार्टीले लिएको छ ।

युवा गठनसँगै बिर्तामोडमा र्याली र कोणसभासमेत आयोजना भएको थियो । कोणसभामा सम्बोधन गर्ने वक्ताहरुले प्रदेशको नाम कोशी खारेज गराएरै छाड्ने दाबी गरेका थिए । कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत दलहरुको अगुवाइमा युवा दस्ता गठन भएको हो ।

पहिचानवादी दलहरुको गतिविधिलाई नजिकबाट नियालिरहेको प्रशासनले भने ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको थियो । कार्यक्रम स्थलमा सयौं शसस्त्र र जनपथ प्रहरी परिचालन गरिएको थियो ।

युवा दस्ताले लाठी लिएर र्यालीमा सहभागिता जनाएका थिए । हातमा लाठी र सञ्चारसेट बोकेका सयौं युवाहरुले बिर्तामोडको सिटी सेन्टरमा आयोजित दस्ता घोषणापछि प्रदर्शन गरेका थिए । बिर्तामोडको सिटी सेन्टरमा युवा दस्ता गठन भएको घोषणापछि घरेलु हतियार लाठीसहितको जर्सीधारी युवाहरुलाई बिर्तामोडमा मार्चपास गराइएको थियो । कोशी प्रदेश खारेजीको नारामा हातमा लाठी उचाल्दै उनीहरुले मार्चपास गरेका थिए ।

पहिचानवादी दस्ताले बोकेको सञ्चारसेटको आधिकारिकताको विषयमा प्रहरीले भने अनभिज्ञता प्रकट गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीलाई युवा दस्ताका कार्यकर्ताले ‘मिडियाको सञ्चारसेट’ भन्ने जवाफ दिएको बताए । कार्कीले सञ्चारसेटकोे आधिकारिताका विषयमा बुझेर जानकारी दिने बताए ।

सञ्चारसेट प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ । तर, आज घोषित युवा दस्ताले प्रशासनबाट अनुमति नलिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनले अनाधिकृत रुपमा प्रयोग भएको भए जफत गर्नेसमेत बताए ।