धरान । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा सात कम्पनीको नाममा जम्मा ३ सय ६२ किलो सुन तस्करी भएको पत्ता लगाएको छ ।
बुधबार सिआइबीले अहिलेको मूल्यमा तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ बराबरको सुन तस्करी भएकोले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन रायसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
उक्त घटनामा अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेकामा १८ जना फरार रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सिआइबीले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरूमाथि विभिन्न सातवटा कसूर लगाउन सिफारिस गरिएको छ ।
उक्त प्रकरणमा आरोपीहरूमाथि हालसम्म भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैङ्क ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबाहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएकोे सिआइबीका प्रमुख तथा एआइजी किरण बज्राचार्यले जानकारी दिइन् ।
उक्त प्रकरणमा प्रत्यक्षरूपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ । सिआइबी प्रमुख बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताइन् । उनका अनुसार अनुसन्धानका साथै विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छ । त्यसपछि अपरेसनल टोलीले विभिन्न ठाउँमा पक्राउ तथा बरामद गर्ने, लोकेसन भेरिफाइ गर्नेलगायत काम गरेको, अर्को डकुमेन्टेसन टोलीले अभियोजनलगायत कामलाई कानूनसम्मत बनाएको र आन्तरिक तथा वाह्य समन्वयको टोलीले समेत सहयोग पु¥याएको सिआइबी प्रमुख बज्राचार्यले जानकारी दिइन् ।
उक्त सुन प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरूले सुरुमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको बताए । विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर, बाँकी अनुसन्धान जारी रहने उनको भनाइ थियो । तहगतरूपमा मान्छे तयार पारेर तस्करी गरेको पनि पाइएको चर्चा गर्दै संयोजक थापाले ती कम्पनीले अटो पाटर््समा सुन ल्याएको, हङ्कङमा रहेको कार्गाे कम्पनीले सुन पठाएको र लाजिम्पाट तथा टोखामा लगेर गाल्ने गरिएको तथ्य पनि फेला परेको बताए ।
भन्सारको भौतिक मूल्याङ्कन र जाँचपासका सबै प्रक्रियामा जोखिम व्यवस्थापन शाखाले मनिटरिङ गर्ने गर्दछ तर, त्यहाँ संलग्न कर्मचारीहरू पनि अनुसन्धानको दायरामा रहेका छन् । गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङ्कङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।
विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । ब्रेक सुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेकोे थियो । उक्त सुन अहिले राष्ट्र बैङ्कको संरक्षणमा रहेको छ ।
                    
        
                                        
                                                                                                
        































