धरानस्थित जिरोपोइन्टमा सवारी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । एकजनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित एमर्जेन्सीमा उपचार भइरहेको छ ।

जिरो पोइन्टस्थित स्टेडियम टर्निङमा बिपी प्रतिष्ठानकै को १ क ११५९ नम्बरको बसले प्रतिष्ठानमा कार्यरत कर्मचारी २९ वर्षीय
प्रभुदयाल चौधरी र २६ वर्षीया अम्बिका माखिम लिम्बू* सवार प्रदेश १ ०–०२–०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिंदा स्कुटीमा सवार अम्बिकाको घटनास्थलमै मृत्यु भएको प्रतिष्ठानका नर्सिङ प्रोफेसर उपेन्द्र यादवले जानकारी दिए ।

चौधरी र लिम्बू श्रीमान् श्रीमती रहेको बताइएको छ । पर्सा जिल्ला भवानीपुर गाउँपालिका घर भएका उनीहरु प्रतिष्ठानमा सहयोगी र सरसफाइकर्मीका रुपमा कार्यरत रहेको बताइएको छ । 

आज प्रतिष्ठानको ३० औं स्थापना दिवसको अवसरमा ‘रन द माइल्स फिल द स्माइल’ कार्यक्रमअन्तर्गत आयोजित प्रतिष्ठानको जिओपिडीदेखि फुस्रे हुँदै  प्रतिष्ठानसम्मको म्याराथनमा सहभागीलाई पुर्याएर फर्कंदै गरेको प्रतिष्ठानको बसले कार्यक्रममा सहभागी कर्मचारीलाई नै ठक्कर दिएको हो ।

घटनास्थलमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका असई वीरबहादुर कार्कीले दुर्घटनाबारे अनुसन्धान भइरहेको बताए । बसको ठक्करले को १ च ८१०८ नम्बरको भ्यानमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । 

*अपडेट