संखुवासभा खराङका परेश राई मेरो भोइस युनिभर्सको फाइनलमा प्रवेश गरेका छन् । हालसम्म नेपालमा भएको ठूलो गायन रियालिटी सोको फाइनलमा पुगेसँगै गएको शनिबारबाट नियमित पूर्व हुँदै काठमाडौंसम्म पुगेर भोटको  अपिल गरिरहेका छन् । 

गत शनिबार गृह जिल्ला संखुवासभाको खाँदबारीमा आयोजना गरिएको भोटिङ विशेष कन्सर्टमा सहभागी भएका राई बुधबार काठमाडौं पुगे । नागरिक चासो मल्टिमिडिया प्रालिले खाँदबारीमा कार्यक्रमको आयोजना गरेको थियो । 

संखुवासभाको चैनपुरमा आइतबार प्रस्तुति दिएका उनी सोमबार पाँचखपनको वानामा प्रस्तुती दिँदै भोट मागेका थिए । मंगलबार धरानको भानुचोकमा प्रस्तुति दिएका उनी बुधबार काठमाडौंको कपनमा आयोजित कार्यक्रममा पुगेर प्रस्तुति दिए । 

संखुवासभा–काठमाडौं समाज र संखुवासभा–काठमाडौं कलाकार चौतारीले भोटिङ विशेष कार्यक्रम आयोजना गरेको थियो । 

विभिन्न स्थानमा पाँच दिनदेखि उनी नियमित सांगीतिक कार्यक्रममा उनी दजर्नौं प्रस्तुति दिइरहेका छन् । 

खाँदबारीमा आयोजित कार्यक्रममा उनकी आमा पृथ्वीमाया राईको समेत उपस्थिति थियो । आमालाई ढोगेर उनले प्रस्तुति दिन सुरु गरेका थिए । कार्यक्रमको व्यवस्थापन उनका समर्थकहरुले गरेका थिए । विभिन्न व्यक्तिहरुबाट अभियान नै चलाएर आर्थिक रकम समेत जम्मा भएको छ । स्वेच्छिक सहयोगबाट संकलन भएको रकमबाट भोट गरिने छ ।

गीत गाउँदै उनले आम व्यक्तिहरुसामु भोटको अपिल गरे । यस पटक अन्तिम पटक भोट दिन पाउने अवसर भएकोले सबैले सकेको सहयोग गर्न उनले आग्रह गरे । उनले मोबाइलबाट माई ईन्ट्रा एप डाउनलोड गरेर त्यसबाट भोट लगाउन सकिने बताए ।

उक्त प्रविधि नजानेकाहरुले आफैंलाई समेत सम्पर्क गर्न सक्ने तथा आधिकारिक अभियान्ताहरुलाई भोट रकम नै समेत उपलब्ध गराउ सकिने जानकारी दिए । यस पटकको प्रतिस्पर्धामा विजेता बने नेपाली मौलिक गीत संगीतको संरक्षण तथा प्रवर्धनमा लाग्ने समेत राईले प्रतिबद्धता दोहोर्याए ।

प्रतियोगिताको अन्तिम चरणमा राईसहित पाँच जना पुगेको छन् । नेपालबाट २ जना र भारतबाट ३ जना फाइनलिस्ट छन् । भाद्र २ गते सोको फाइनल हुने आयोजकले जनाएको छ । 

को हुन् परेश राई ?

संखुवासभा जिल्लाको चैनपुर नगरपालिका १० इकुम्बामा जन्मिएका परेशले खराङस्थित सारदा माविबाट एसएलसी उत्तीर्ण गरे । २०६९ मा एसएलसी सकेपछि धरान गएर मानविकी संकायबाट दश जोड दुई उत्तीर्ण गरे । 

सानै उमेरदेखि गीत–संगीतमा रुचि रहेका परेशले विद्यालय उमेरदेखि नै विभिन्न सानातिना कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएका थिए । धरानमा संगीत विषय पढ्न नपाएपछि उनी काठमाडौं हानिएका थिए । उनी काठमाडौंस्थित मातातीर्थ क्षेत्रमा दिदीको घरमा बसेर आरआर क्याम्पसमा संगीत विषय अध्ययन गरिरहेका छन् । 

अहिले उनी संगीत विषयको तेस्रो वर्षमा अध्ययनरत छन् । २४ वर्षीय परेश चार दाजु र चार दिदीका कान्छो भाइ हुन् ।

सुरुसुरुमा सानातिना कार्यक्रममा भाग लिँदै गरेका उनी २०७१ मा रेडियो नेपालले आयोजना गरेको खुल्ला आधुनिक गीत प्रतियोगितामा पूर्वाञ्चल विजेता बने भने अर्को गायन रियालिटी सो भोइस अफ नेपालको पछिल्लो सिजनमा नकाउट चरणबाट बाहिरिएका थिए ।