भारतीय अभिनेता सनी देओल अभिनित चलचित्र ‘गदर २’ ले हलमा पहिलो दिनदेखि नै दर्शकको भीड आकर्षित गर्न थालेको छ । चरित्र तारा सिंहको कमब्याकले बक्स अफिसमा स्मरणीय छाप छाड्ने बताइएको छ । २२ वर्षपछि बनेको गदरको यो सिक्वेलले पहिलो दिन हलबाहिर लामो लाइन लगाइदिएको छ । ‘गदर २’ ले पहिलो दिन ‘रेकर्डतोड ओपनिङ’ गरेको छ । 

सनी देओलको तारा सिंह अवतारको कमब्याकले एक पटक हलमा सानदार कमाइ हुने दिनहरु समेत सम्झना गराएको छ । २२ वर्षपछि फर्किएको ‘आइकोनिक हिरो’ पहिलो दिन नै बक्स अफिसमा डेरा जमाएको छ  । सन् २००१ म रिलिज भएको ‘गदर’ को सिक्वेलले राम्रै कमाइ गर्छ भन्ने अनुमान गरिएको थियो तर यसले नसोचेको  विष्फोटक कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

शुक्रबार हलमा लागेको ‘गदर २’ लाई दर्शकले भरपुर साथ दिए हलबाहिर समेत लामो लाइन लाग्यो । कतिपय ‘सिंगल स्क्रिन थियटर’ मा हाउसफुलको बोर्ड राख्न परेको थियो । 

दिल्ली, मुम्बईजस्ता मल्टिप्लेक्स हल वा पटना, गोरखपुरजस्ता शहरको सिंगल स्क्रिन थियटर्स हुन् ‘गदर २’ ले प्रत्येक ठाउँमा उस्तै दर्शक पायो । 

यसको नतिजा शनिबारदेखि आउन थालेको छ । ट्रेड रिपोर्टसका अनुसार ‘गदर २’ ले पहिलो दिन नै यो वर्षको सबैभन्दा दोस्रो ठूलो ‘ओपनिङ कलेक्सन’ गरेको  छ ।

पहिलो दिन नै एडभान्स बुकिङमा सानदार ओपनिङ गरेको चलचित्रले भारतीय थियटर्सको नेश्नल चेन्समा २ लाख ८० हजार एडभान्स बुकिङ गरेको थियो भने कुल ७ लाख बढी एडभान्स टिकट काटिएको थियो । पहिलो दिन चलचित्रले ३० करोड भारतीय रुपैयाँको व्यापार गर्ने अनुमान गरिएको थियो । तर चलचित्रले उत्कृष्ट सुरुवात गर्दै पहिलो दिन नै ३८ देखि ४० करोडको कलेक्सन गरेको ट्रेड रिपोर्ट आएको छ । 

चलचित्र ‘पठान’ पछि सन् २०२३ मा सनी देओलको यो चलचित्रले सबैभन्दा ठूलो ओपनिङ गरेको हो । पठानले पहिलो दिन ५७ करोड कमाइ गरेको थियो भने प्रभासको चलचित्र आदिपुरुषले ३६ करोड उठाएको थियो । 

बलिउड चलचित्रको कुरा गर्दा सनीको यो फिल्मले सबैभन्दा ठूलो ओपनिङ गरेको छ । आमिर खानको चलचित्र धुम ३ (२०१३) ले पहिलो दिन ३६.२२ करोड कलेक्सन गरेको थियो । र, सिक्वेलको सबैभन्दा ठूलो ओपनिङ बनाएको थियो । गदरले १० वर्षपछि यो रेकर्ड तोडेको छ । 

भारतीय चलचित्रमध्ये ५७ करोडको ओपनिङ कलेक्सन केजीएफ २ ले गरेको थियो । त्यसपछि बाहुबली २ ले पहिलो दिन ४१ करोड कमाइ गरेको थियो भने तेस्रो स्थानमा ‘गदर २’ ले ठूलो ओपनिङ गरेको छ । 

‘गदर २’ ले सनीको करियरको ठूलो ओपनिङ दिएको छ । ट्रेड एनलिस्टका अनुसार चलचित्रले विकेन्डमा १०० करोडको कमाइ गर्ने अनुमान गरिएको छ ।