सुपर स्टार रजनीकान्त अभिनित ब्लाक कमेडी एक्सन मुभी ‘जेलर’ ले एडभान्स बुकिङबाट १४ करोड १८ लाख भारतीय रुपैयाँ आर्जन गरेको छ । चलचित्रमा रजनीकान्त जेलरको भूमिकामा देखिएका छन् ।

 भारतीय सञ्चारमाध्यमहरुले एडभान्स बुकिङबाट रजनीकान्तप्रतिको फ्यानहरुको लगावको मूल्यांकन गरेका छन् । तमिलनाडुमा चलचित्र ९ सय थियटरमा रिलिज भएको छ । चलचित्रले पहिलो दिनमा ४० देखि ४५ करोडको ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ । 

भोलिदेखि सिनेमाघरमा चलचित्र प्रदर्शन हुँदैछ । दुई वर्षपछि चलचित्र जेलरमार्फत् रजनीकान्तको ‘कमब्याक’ हुँदैछ । थियटरबाहिर थलाइबा फ्यानहरुले आतसबाजी गरेका छन् । रजनीकान्तको होडिङबोर्डमा फ्यानहरुले दूधले नुवाइरहेको सञ्चारमाध्यमले रिपोर्ट सार्वजनिक गरेका छन् । दर्शकले ढोल, नगाडा बजाएर सुपरस्टारलाई पुजिरहेका छन् । यो दृश्य रजनीकान्तको चलचित्र प्रदर्शन हुँदा देखिने सामान्य दृश्य हो । 

चलचित्र ‘जेलर’ को रिलिजका लागि लामो समयदेखि पर्खाइ रहेको थियो । चलचित्र तमिल भाषामा बनेको छ । यसलाई हिन्दी र अन्य भाषामासमेत रिलिज गरिएको छ । नेल्सन दिलिप कुमारको  निर्देशनमा बनेको यो चलचित्रमा रजनीकान्तसँगै राम्या कृष्णन, तमन्ना भाटिया, योगी बाबु, जेकी स्रफ, मोहनलाल, विनायकन जस्ता स्टारलाई देख्न सकिन्छ ।

रिपोर्टअनुसार ‘जेलर’ले भारतमा १४ करोड १८ लाखको प्रिबुकिङ गरेको छ । चलचित्रको तमिल भर्जन ले ५ लाख ९१ हजार २ सय २१ टिकट बिक्रीबाट १२ करोड ८२ लाख कमाइ गरेको छ । तुलुगु भर्जनमा ७७ हजार ५ सय ५४ टिकट बिक्रीबाट १ करोड ३५ लाख भारतीय रुपैयाँ कमाइ गरेको छ भने तमिलनाडुमा चलचित्र ९०० थियटरमा प्रदर्शन हुँदैछ ।