विषय प्रवेशः
भर्खरै माओवादी केन्द्रको जम्बो तथा चिरप्रतिक्षित केन्द्रीय समिति बैठक सकिएको छ । साउन १७ गतेदेखि २१ गतेसम्म चलेको बैठकमा पार्टी र आन्दोलन बनाउने सन्दर्भमा विभिन्न कोणबाट छलफल भएको देखिन्छ । बैठकमा सहभागी सबै कमरेडहरूले वर्तमान पार्टी आन्दोलन र सरकारको काम कारबाही र भावी कार्ययोजनाको सवालहरूमा विहङ्गम छलफल बहस गरेका छन् । कतिपयले नेतृत्वततर्फ तीर सोझेयाए भने कतिपयले भने वर्तमान जटिलता र संसदीय सीमा र कमजोरी भनेर सन्तुलित भनाइ राखे । प्रायः अधिकांश सदस्यहरूको मर्म र भावना भनेको पार्टी आन्दोलन कमजोर भयो भन्ने नै थियो । यसलाई हामी सबै रूपान्तरण भएर सुदृढ गर्नु पर्दछ । हामी सबै बिग्रियौँ, नेता पनि बिग्रिएका छन् भन्नेमा सबैको एकमत देखिन्थ्यो । हाम्रो उठबस, जीवनशैली र कार्यशैली बिग्रियो । पद, पावर, पैसा, परिवार, आफन्त, साथीभाइ र चिनजानवादी भयौं । पार्टी आन्दोलनको आधारभूत दृष्टिकोणबाट हामी धेरै टाढा पुगिसक्यौं । विचारभन्दा चोचो–मोचो र टालटुले राजनीतिमा लिप्त भयौं भन्ने थियो जुन यथार्थ पनि हो ।

वस्तुतः बैठक समीक्षात्मक भएको देखिन्छ तर, हाम्रो समस्या भनेको समीक्षात्मक धरातलमा टेकेर प्रभावकारी कार्यान्वयनमा जान नसक्नुमा रहेको छ । यसमा पार्टी लाइन र संसदीय कार्यदिशाबीचको बेमेलले पनि घर गरेको छ ।  जीवन्त पार्टीले अतीतको समीक्षा मात्र गर्दैन । यसलाई दृढतापूर्वक समातेर अनि कमीकम्जोरीलाई आत्मसात गर्दै अघि बढ्ने कार्यक्रमिक गन्तव्यको ठोस खाका तय गर्दछ । विगतका बैठकहरूमा जस्तै यसपालिको बैठकलाई पनि ऐतिहासिक भनिएको छ । यद्यपि बैठकका निर्णयहरू कार्यान्वयन गर्न पार्टी कसरी अघि बढ्छ, त्यो भने हेर्न बाँकी नै छ ।

बैठकका निर्णयहरूः
बैठक बसेपछि केही न केही नयाँ निर्णयहरू गरिन्छ । यो बैठकको आधारभूत नियम हो । सोही अनुरूप माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पनि दूरगामी महŒव राख्ने थुप्रै निर्णयहरू गरेको छ । यस अन्तर्गत आलोचना र आत्मालोचनाको स्पिरीटलाई आत्मसात गर्दै रूपान्तरणको सङ्कल्प गरेको छ । यद्यपि यो आन्दोलनको राप, ताप र चापमा मात्र पाच्य हुन्छ । अरू सामान्य अवस्थामा आलोचना स्वीकार गरिँदैन अनि आत्मालोचना गर्न मनले मान्दै मान्दैन । यो साश्वत् नियम हो । विचार र विधिलाई मन र मुटुका रूपमा आत्मसात गर्दै विधान सम्मेलनद्वारा विधान निर्माण र विशेष महाधिवेशन मार्पmत् विचार संश्लेषण गर्ने निर्णय गरेको छ । योसँगै विभाजित सबै कम्युनिष्ट धाराहरूलाई ध्रुवीकरण गर्दै समाजवादी धारा निर्माणको लागि विशेष पहल गर्ने पनि निर्णय गरेको छ । जनसम्बन्ध सुदृढ र विस्तार गर्न जनतासँग माओवादी विशेष रूपान्तरण अभियान २०८० सञ्चालन गर्ने निर्णय गरेको छ । वडास्तरबाट देशैभर एकसाथ उद्घाटन हुने यो अभियान तीन महिनासम्म चल्नेछ । यो अभियानको मूल लक्ष्य भनेको जनसम्बन्ध नयाँ ढङ्गले सुदृढ गर्दै रूपान्तरित पार्टी निर्माण रहेको छ ।

यसका अतिरिक्त पदाधिकारीहरूको जिम्मेवारी पुनर्विभाजन पनि गरिएको छ । निरन्तर पाँच दिनसम्म चलेको वैठक पार्टी अध्यक्ष कमरेड प्रचण्डको सारगर्भित संश्लेषित मन्तव्यसहित समापन भएको छ । यद्यपि बैठक वा महाधिवेशनको समापनमा जागेको उत्साह र स्पिरिट धेरै लामो समय टिक्न नसकेको विगत तीतो ऐतिहासिक नजीर व्यहोरेको हामी सबैलाई यो बैठकले भावी दिनमा कस्तो परिणाम देला यसै भन्न सकिन्न । मूलतः बैठक राम्रा निर्णयहरू गर्दै समापन भएको भने साँचो हो । यसमा तत्काल सकारात्मक अपेक्षा राख्नु नै वस्तुवादी हुन्छ ।

कार्यान्वयनः
बैठक बस्ने र निर्णय गर्नु निरन्तर औपचारिक प्रक्रियाहरू हुन् । सामन्यतः औपचारिक वा अनौपचारिक बैठकहरू भई नै रहेको हुन्छ । यो औसत नियमित प्रक्रियाहरू हुन् । तर, बैठक वा महाधिवेशन औसत र औपचारिकतामा वस्नु र यसले गर्ने निर्णयहरुको कार्यान्वयनले नितान्त भिन्न महŒव बोकेको हुन्छ । अर्थात् बैठक बस्नु र निर्णयहरू गर्नुभन्दा त्यसलाई जीवन र व्यवहारमा कार्र्यान्वयन गर्नु मुख्य सवाल हो । भर्खरै सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले थुप्रै राम्रा–राम्रा र दूरगामी राजनैतिक महŒव बोकेका ऐतिहासिक निर्णयहरू गरेको देखिन्छ । तर, मूलभूत पक्ष भनेको निर्णयभन्दा पनि कार्यान्वयन पक्षको अन्तर्यमा हुन्छ । किनभने विगतमा पनि यस्ता थुप्रै निर्णय र घोषणाहरू गरिएका थिए । तर, त्यसको कार्यान्वयन धेरै कठिन भएको देखिन्छ । यही पृष्ठभूमिमा पुनः यो बैठकबाट गरिएका निर्णयहरू कामयावी हुने कुरामा आशङ्का गर्नु स्वभाविक हुन्छ । प्रत्येक बैठकका निर्णयहरू कार्यान्वयन हुँदैन भने किन भएन भनेर तथ्य खोज्नुपर्ने पनि हुन्छ । तर, हामीमा कार्यान्वयन किन भएन भनेर तथ्य कारण पहिल्याउनेतर्पm जाने संस्कृति छैन । निर्णय गर्ने अनि माइन्युटलाई दराजमा थन्क्याउने जस्तो भएको छ । यद्यपि सदिच्छा राखौं कि यसपालिको बैठकको निर्णयहरू अक्षरशः जीवन–व्यवहारमा लागू हुनेछ ।

माओवाद र संसदीय कार्यदिशाः
सारतः सही राजनैतिक कार्यदिशा विन्यास गरियो भने नभएको चिज पनि प्राप्त हुन्छ र गलत विन्यास गरियो भने भएको पनि गुम्दछ । यो कुनै लहड र सनकमा भनिएको उक्ति होइन । यसको अन्तर्यमा राजनैतिक मर्मको सच्चाइ अन्तरनिहीत देखिन्छ । समाजलाई राजनैतिक रूपमा अग्रगामी नेतृत्व गरेर अघि बढाउनु छ भने सही र वस्तुवादी कार्यदिशा विन्यास अनिवार्य शर्त हुन्छ । कार्यदिशा गलत चयन गरियो भने त्यसले अस्तव्यस्तता, अस्थिरता र दुविधामा फसाइदिन्छ । पार्टी नचाहँदा नचाहँदै पनि लगभग पतनको अवस्थामा पुग्दछ । अग्रगामी पश्चगामीजस्तो अनि पश्चगामी अग्रगामीजस्तो हुन पुग्दछ । अर्थात् रूपहरू कुरूप बन्दछन् । यही मेसोमा सही राजनैतिक एजेण्डाहरू गलत सावित हुँदै जान्छन् । समाज अनिर्णय र गोलचक्करको बन्दी बन्न पुग्दछ । तब राम्रो र अग्रगामी आयामहरू सबै यही दुविधा र अनिर्णयको नकारात्मक रापमा ओझेल पर्दै जान्छ । यो कार्यदिशा विन्यासको सार्वभौमिक पक्ष हो ।

त्यसैले सिद्धान्ततः र व्यवहारतः राजनैतिक विचार र कार्यदिशाबीच मेल हुनु अनिवार्य हुन्छ । बेमेलपूर्ण कार्यदिशाले समाजको सही नेतृत्व गर्दै अग्रगामी निकास पहिल्याउन सक्दैन । तब माओवादी राजनैतिक दृष्टिकोण र संसद्वादी कार्यदिशाबीच सैद्धान्तिक, राजनैतिक, वैचारिकरूपमा तादात्म्यता मिल्छ कि मिल्दैन ? यसमा तपाईं हामी राजनैतिकरूपमा स्पष्ट हुनु जरुरी छ । वस्तुतः माओवाद र संसद्वादी कार्यदिशाबीच परिपूरक र सहयोगी सम्बन्ध हुन सक्दैन । अर्थात् माओवादी राजनीतिले संसद्वादी कार्यदिशा स्वीकार गर्दैन भने संसद्वादी कार्यदिशाले माओवाद चिन्दैन । यसो भएपछि कि त माओवाद विनाको संसद्वाद हाबी हुन्छ, कि त संसद्वाद विनाको माओवाद हाबी हुनुपर्ने हुन्छ । आजको हाम्रो राष्ट्रिय राजनैतिक परिदृश्यलाई नियाल्दा माओवादलाई नचिन्ने संसद्वाद हाबी भइरहेको छ । नचिन्ने र नमिल्नेसँग सहयात्रा र सहकार्य गरिरहेका छौं । यस्तो वस्तुगत अर्थराजनैतिक धरातलमा दुवैलाई समायोजन गरेर लान खोज्नु कि त बनिबनाउ कल्पना मात्र हुन्छ, कि त गोलचक्करमा केही समय अल्मलिने वा घुम्ने रणनीति मात्र हुन्छ ।

आज राष्ट्रिय राजनीतिका तमाम अग्रगामी एजेण्डाहरूको नेतृत्व गर्ने पार्टी माओवादी केन्द्र अरू संसद्वादी पार्टी र नेताहरू जस्तै  फिक्का हुँदै गएका छन् । यो कार्यदिशाकै उपज भइरहेको छ । वस्तुतः सैद्धान्तिक प्रतिबद्धता, त्याग, वलिदान, जीवनशैली, कार्यशैली र उठवस सवै कार्यदिशाले नै निर्धारण गर्दछ । आज माओवादीले पनि अरू पार्टी र नेताहरूले जस्तै जीवन व्यवहार अङ्गीकार गर्नु भनेको रहरभन्दा पनि संसदीय कार्यदिशाद्वारा स्वतः निर्देशित कर्मकाण्डहरु हुन् ।

वास्तवमा राजनैतिक दृष्टिकोण र कार्यदिशागत तादात्म्यता नमिलेपछि राजनैतिक जीवन व्यवहार अस्वभाविक हुँदै जान्छ । स्कुलिङ एकातिर र व्यवहार अर्कोतिर हुन पुग्दछ,  जुन आज माओवादीले भोगिरहेको छ । वास्तवमा माओवाद र संसद्वाद जताबाट नापे पनि मिल्दैन । कसैको निहित र निकृष्ट स्वार्थमा मिलेको हवाला दिए पनि राजनैतिक जीवन–व्यवहारको कसीमा एकै ठाउँ हुन सक्दैन ।  यी दुवै अन्तरविरोधी पद्दतिहरू हुन् । माओवादको दृष्टिकोणीय मूल्यमान्यता र संसद्वादको दृष्टिकोणीय अवधारणा सारभूत रूपमै भिन्न हुन्छ । अर्थात् माओवाद उत्तर हो भने संसद्वाद दक्षिण हो । यस्तो वस्तुगत अर्थराजनीतिक धरातलमा यी दुवैलाई एउटै राजनैतिक कार्यदिशामा घोलघाल पार्न खोज्नु भनेको यस्तै अकर्मण्यता, अनिर्णय,  अस्तव्यस्तता र अस्थिरताको गोलचक्करमा फस्नु र फसाउनु मात्र हुन्छ । यस्तो अन्तरविरोधी कार्यदिशा अङ्गीकार गरेर राजनैतिक तथा पार्टी आन्दोलन अघि बढाउन असाध्यै कठिन हुन्छ, जुन तपाईं हामीले प्रत्यक्ष जीवनमा भोगिरहेका छौं ।

निष्कर्षः
त्यसैले हालै सम्पन्न माओवादी केन्द्रको बैठकले दूरगामी महत्व राख्ने थुप्रै निर्णयहरू गरेको छ । यो सुखद् पक्ष हो । यो वा त्यो धेरै निर्णयहरू गर्ने तर, व्यावहारिक कार्यान्वयन भने शून्यमा रहने नेपाली संस्कार पनि नयाँ होइन । हरेक बैठक वा महाधिवेशनका निर्णयहरूको कार्यान्वयन कहिल्यै पनि पूरा भएको देखिँदैन । यसको पछाडिको वस्तुगत कारण भनेको पार्टी पंक्ति चलायमान नगर्नु र इच्छाशक्ति नहुनु मात्र होइन । निर्णयहरू कार्यान्वयन भइरहेका छैनन् भन्ने न्यूनतम् ज्ञान नभएर पनि होइन । यो गर्न जरुरी छ, त्यो गर्न झन् जरुरी छ भन्ने सचेतना र गाम्भीर्यता सबैमा छ । तर पनि कार्यान्वयन हुँदैन किन ?

यसको मूलभूत कारण भनेको माओवादी राजनैतिक दृष्टिकोण र संसद्वादी कार्यदिशा बीचको तादात्म्यता नमिल्नु नै हो । राजनैतिक दृष्टिकोण र राजनैतिक कार्यदिशा नमिलेपछि राजनीतिले गति लिन सक्दैन । गति नलिनु भनेको चरम् अकर्मण्यता र अनिर्णयको चक्रव्यूहमा फस्नु हो । यसको वस्तुवादी र वैज्ञानिक समाधान भनेको कि त माओवादीले संसद्वादी कार्यदिशा त्यागेर माओवादी न्यूनतम् राजनैतिक प्रस्थापना अनुरूपको राजनैतिक कार्यदिशा विन्यास गर्नु पर्दछ । कि त माओवाद त्यागेर निरपेक्ष संसद्वादी कार्यदिशा अपनाउनु पर्दछ । त्यसैले माओवादी आन्दोलनको पुनर्संगठनबारे गम्भीर बहस छलफल सञ्चालन गरौं बिग्रेको पार्टी, सङ्गठन, जीवनशैली, कार्यशैली र उठबस स्वतः रूपान्तरण हुनेछ । किनभने प्राविधिक, साङ्गठनिक, जीवनशैली र कार्यशैली भनेको कार्यदिशाले स्वतः निर्धारण गर्ने सवालहरू हुन् । सरोकारवाला सबैलाई चेतना होस् !