हाल धरानमा वितरण भइरहेको खानेपानीको ३ दिनभित्र परीक्षण गरी रिपोर्ट सार्वजनिक गर्न धरानका राजनीतिक दलले माग गरेका छन् ।
धरानका प्रमुख राजनीतिक दलहरुले धरान नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) लाई ५ बुँदे मागपत्र प्रस्तुत गर्दै हरेक महिना खानेपानीको परीक्षण गरी रिपोट सार्वजनिक गर्नु पर्ने, तत्कालै पानीको ट्रिटमेन्ट गरी पिउन योग्य पानी वितरण गर्न धरान उपमहानगरपालिकाको तर्फबाट पहल गर्नु पर्ने, धरानको खानेपानीका सबै मुहानको संरक्षण तोकिएको मापदण्ड अनुसार तत्काल गर्नु पर्ने र मुहान क्षेत्रमा मानवीय गतिविधि बन्द गर्नु पर्ने साथै धरान खानेपानी व्यवस्थापन बोर्डको सञ्चालन प्रभावकारी रुपमा गर्न नगर प्रमुखको हैसियतले भूमिका खेल्नु पर्ने दलहरुले माग राखेका छन् ।
हाल धरानका विभिन्न खानोपानीको मुहानबाट वितरण भइरहेको खानेपानीमा 'फिकल कोलिफर्म' भेटिएको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको बताउँदै नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस, राप्रपा, राष्ट्रिय जनमूक्ति पार्टी, नाउपा(संयुक्त), सलोराम, क्रान्तिकारी कम्युनिष्ट पार्टी, किरात खम्बुवान साझा पार्टी, विवेकशील साझा पार्टीलगायत १२ राजनीतिक दलले संयुक्त मागपत्र प्रस्तुत गरेका हुन् ।


* शीर्षक अद्यावधिक गरिएको