कोसी राजमार्ग अन्तर्गत धरान–इटहरी सडक–खण्डको सेउती पुल नजिकै दिउँसै गोली हानी एक युवाको हत्या गरेको आरोपमा दुई जना युवा पक्राउ परेसँगै उनीहरू लामो समयदेखि लुटपाटमा संलग्न भएको खुलेको छ । उनीहरूले समूह बनाएरै लुटपाटको धन्दा मच्चाइरहेका रहेछन् । प्रहरीले पक्राउ गर्दा उनीहरूका साथबाट विभिन्न समयमा लुटपाट गरेका सामान पनि बरामद भएका छन् । उनीहरूले विराटनगरका रोहित चौधरीलाई पनि लुटपाट गर्ने क्रममा प्रतिकार गरेपछि गोली हानेको प्रहरीको भनाइ छ । प्रहरीले दिएको जानकारी अनुसार उनीहरू पहिला पनि विभिन्न अपराधमा सजाय पाएका व्यक्तिहरू हुन् । यो घटनाबाट युवापुस्तामा आपराधिक प्रवृत्ति बढिरहेको देखिन्छ । त्यतिमात्र होइन, पहिला अपराधको सजाय पाइसकेका व्यक्तिहरू किन अपराधमै फर्किरहेका छन् ? भन्ने विषय गम्भीर छ ।

देशको युवापुस्ता निराशामा छ । नेपालमै केही गर्ने वातावरण नपाएको भन्दै कयौं युवाहरू विदेश पलायन भइरहेका छन् । कतिपय युवाहरू नेपालमै सम्भावना खोजिरहेका छन् भने युवाहरूको ठूलै सङ्ख्या लागूऔषधको दुव्र्यसनदेखि विभिन्न अपराधमा संलग्न भइरहेको छ । युवापुस्तामा आइरहेको यस्तो विचलनले हाम्रो समाज दुर्गतिमा गइरहेको बुझ्न कठिन छैन । मान्छेमा आर्थिक समस्या हुन सक्छ वा अरू विभिन्न समस्या हुन सक्छन् तर, समस्या भयो भन्दैमा किन कसैको ज्यानै लिन पछि नपर्ने अवस्था आइरहेको छ ? अनि यसको नियन्त्रण कसरी गर्न सकिन्छ ? यो अहिलेको चिन्ताको विषय हो । हरेक समाजमा आपराधिक मनोवृत्तिमा मानिस हुन्छन् नै । तर, समाज बेलैमा सचेत हुने हो भने अपराध न्यूनीकरण गर्न सकिन्छ । त्यसको पहिलो पहल त घरबाटै हुनु आवश्यक छ । त्यसका लागि हरेक अभिभावक सचेत हुनुपर्छ । आफ्ना सन्तान के गरिरहेका छन् ? कुन बाटोमा हिँडिरहेका छन् ? भनेर बेलैमा बुझ्नसके गलत बाटोमा जानबाट रोक्न सकिन्छ । बालबालिका हुर्कंदादेखि नै आपराधिक बाटोमा लाग्न नदिन अभिभावकले निगरानी गर्ने र हुर्किंदै जाँदा पनि उनीहरूलाई असल बाटोमा लाग्न प्रेरणा दिने हो भने धेरै अपराध घरबाटै नियन्त्रण हुन्छ । घरपरिवारले सबै अपराध त नियन्त्रण गर्न सक्दैन । परिवारले नसकेको अवस्थामा समाजले निरुत्साहित गर्नुपर्छ । सचेत समाजले धेरै अपराधलाई नियन्त्रण गर्न सक्छ । बढेको अपराधलाई न्यूनीकरण पनि गर्न सक्छ । समाजले पनि नसकेको अवस्थामा अपराधलाई नियन्त्रण गर्ने कानूनी व्यवस्था गरिएको हुन्छ । प्रहरी प्रशासनको व्यवस्था गरिएको हुन्छ ।

सबैले बुझ्नु पर्ने कुरा चाहिँ के हो भने कानूनमा लेखिएका अक्षरले मात्र अपराध नियन्त्रण हुँदैन । परिवार र समाजले नै आपराधिक मानसिकता विकास हुनबाट रोक्न सक्छ । तर, हाम्रो समाजले यो विषयमा त्यति ध्यान पु¥याएको जस्तो देखिंँदैन । कुनै व्यक्ति आपराधिक गतिविधिमा संलग्न भएको आशङ्का लागेमा समाजले निगरानी गर्ने हो भने मात्र पनि धेरैले अपराध गर्ने हिम्मत गर्दैन । त्यसैले अपराध नियन्त्रणमा समाजको ठूलो दायित्व हुन्छ । अझ स्थानीय तहहरूले समाजसँग मिलेर अपराध नियन्त्रण र न्यूनीकरणका उपायहरू खोजी गर्न सक्छन् । वडातहदेखि नै आपराधिक गतिविधिमा निगरानी गर्ने र शङ्कास्पद व्यक्तिलाई सचेत गराउने हो भने अपराध न्यूनीकरण हुन सक्छ । त्यसका लागि राज्यले नै नीति निर्माण गर्नु आवश्यक छ ।