धरान । गायिका अञ्जु पन्त र रञ्जन राईको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका अञ्जु पन्तकै अफिसियल युट्युब च्यानल ‘अञ्जु पन्त अफिसियल’ मार्फत् शुक्रबार दिउँसो सार्वजनिक गरिएको ‘तिम्रो सुन्दर रूप’ बोलको गीतको भिडियोमा परितोषिका पन्त र विक्रम बुढाथोकीको अभिनय रहेको छ ।

परितोषिका गायिका अञ्जु पन्तकै छोरी हुन् । आमा अञ्जुकै गीतमार्फत् मोडलिङ सुरु गरेकी परितोषिकाको यो पछिल्लो भिडियो हो । अहिले आएर उनी आमा सँगसँगै मोडलिङमा जम्दै आएकी छन् ।

‘तिम्रो सुन्दर रूप’ गीतको शब्दरचना थिर कोइरालाले गरेका हुन् । त्यसैले पनि गीतमा पारिवारिक प्रेमभावसमेत झल्किएको छ । नवीन कार्कीको सङ्गीत रहेको यस गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् ।

प्रकाश खड्काको टिमले सिनेमाटोग्राफी गरेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । ‘तिम्रो सुन्दर रूप’ सुन्दा जति कर्णप्रिय छ, उत्तिकै भिडियोमा कैद गरिएको सुन्दर र मनोरम दृश्यले आँखालाई शीतलता प्रदान गर्छ ।