‘भेनिस चलचित्र महोत्सव’ को ८० औँ संस्करणमा निर्देशक फिडेल देवकोटा निर्देशित चलचित्र ‘दि रेड सुटकेस’ छनोट भएको छ । 

महोत्सवअन्तर्गतको दोस्रो मुख्य प्रतिस्पर्धा ‘होराइजन’ विधामा छानिएको चलचित्रमा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव देखाइएको निर्देशक देवकोटाले जानकारी दिए । 

यसअघि सोही महोत्सवमा पुगेका दुई चलचित्र ‘कालो पोथी’ र ‘सेतो सूर्य’ मा निर्माता तथा छायाँकार विदेशी थिए । स्वदेशी निर्माण समूहकै कार्यकौशलमा प्रतिष्ठित महोत्सवमा पुग्ने ‘दि रेड सुटकेस’ पहिलो चलचित्र बनेको छ । 

निर्देशक देवकोटा स्वयंले लेखेको चलचित्रमा सौगात मल्ल, विपीन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । 

इटालीको भेनिस सहरमा हुने महोत्सव आगामी अगस्ट ३० देखि सुरु भएर सेप्टेम्बर ९ सम्म चल्नेछ ।