देउराली । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगी प्रकोप परीक्षण गर्न आउनेहरूमा ७५ प्रतिशतमा संक्रमण देखिएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार डेंगी क्लिनिक सञ्चालन गरे यता ८ सय १९ जनाको परीक्षण ६ सय १५ जनामा डेंगी देखिएको हो ।
हालसम्म प्रतिष्ठानमा डेंगी प्रकोपका कारण ४ जनाको मृत्यु भएको डा. पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार धरान १७ का एक जना, धरान ११ का २ जना र धरान १८ का १ जनाको मृत्यु भएको छ ।
डेंगीका कारण जेठ २३ गते धरान १७ की ३० वर्षिया एक महिलाको मृत्यु भएको थियो भने असार १५ गते धरान ११ की ४० वर्षिया महिलाको मृत्यु भएको र साउन २ गते धरान ११ का ८० वर्षिय वृद्ध र धरान १८ की ८४ वर्षिया वृद्धाको मृत्यु भएको डा पोखरेलले बताएका छन् ।
डेंगी प्रकोप फैलिएसँगै प्रतिष्ठान र धरान उपमहानगरपालिकाको सहकार्यमा प्रतिष्ठानको जेनेरल ओपिडी अगाडि असार २९ गतेबाट छुट्टै डेंगी क्लिनिक सञ्चालन गरिएको थियो । क्लिनिकमा डेंगी देखिएपछि सामान्य अवस्थामा त्यही डाक्टरहरूले परीक्षण गरी औषधी लेखिदिएर पठाउने गरेको थियो ।
गम्भीर प्रकृतिका बिरामीहरूलाई प्रतिष्ठानको इमर्जेन्सी, आइसियु, अन्य वार्डमा राखेर उपचार गरिँदै आएको थियो ।
डा. पोखरेलका अनुसार हालसम्म २ सय ८५ डेंगी प्रकोपका बिरामीलाई प्रतिष्ठानको इमर्जेन्सी, तथा विभिन्न वार्डमा राखी उपचार पश्चात् डिस्चार्ज गरेको छ । असार ३ मा २२ जना उपचारको क्रममा रहेकोमा हाल बढेर ५० पुगेको हुनसक्ने पोखरेलले बताएका छन् ।
डेगीं प्रकोपका बिरामीहरू चापको आधारमा सिकिस्त बिरामीको सङ्ख्या भने न्यून रहेको पोखरेले बताएका छन् ।
उनले ‘भने दैनिक ३०–३५ जनामा डेंगी देखिने गरेको छ , धरान ११, १५, १७ र १८ मा डेंगीको प्रकोप बढी देखिन्छ । ती वडाबाट आएका बिरामीको सङ्ख्या बढ्दा परीक्षण गरिएकाहरूमा ९० प्रतिसतसम्म सङ्क्रमण देखिएको छ ।’ उनले दैनिक पाँचदेखि १० जना डेंगी रोग देखिएकाहरू इमर्जेन्सीमा जाने गरेको बताए ।
कोभिड अस्पतालमा डेंगी वार्ड
प्रतिष्ठानले आजबाट कोभिड अस्पतालमा डेंगी वार्ड सञ्चालन गर्ने भएको छ । डेंगी प्रकोप फैलँदै गएकोले बिरामीहरूको बढ्दो चापलाई मध्यनजर गरी डेंगी वार्ड सञ्चालन गरिएको सह–प्रवक्ता डा. पोखरेलले बताएका छन् ।
उनले इमर्जेन्सीमा आउने डेंगीका बिरामीको चापमा वृद्धि हुँदा अरू बिरामीहरूलाई उपचारमा असर नपरोस् भन्नुका साथै डेंगीका बिरामीले पनि सहज रुपमा उपचार पाउन सकुन् भनी ३० बेडको छुट्टै डेंगी वार्डको व्यवस्था गरिएको बताए ।
प्रतिष्ठानको इमर्जेन्सीमा वा ओपीडीमा उपचारका लागि आएका डेंगी बिरामीहरू मध्ये सिकिस्त बिरामीहरूलाई आईसीयु, इमर्जेन्सी र अन्य वार्डहरूमा उपचारार्थ राखिने भए पनि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगीका बिरामीहरूलाई उक्त वार्डमा भर्ना गरी उपचार गरिने पोखरेलले बताएका छन् ।
उनले डेंगी वार्डमा बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी भविष्यमा बेड क्षमता विस्तार एवम् सघन उपचार सेवा आइसीयु समेत सञ्चालन गरिने बताए ।